यातायात सेवा अधिकांश विकास निर्माणका लागि पुर्वाधार हो । नेपाल जस्तो भु–बनौट भएको देशमा सडक पुर्वाधारको अँझ बढी महत्व रहन्छ । तर पछिल्लो समय सडक दुर्घटनाका समाचारहरु निकै बढेका छन् । सुगम तथा दुर्गम दुवै क्षेत्रमा सवारी दुर्घटनाका खबरले नागरिकहरु चिन्तित छन् । भर्खरै मात्र कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको सुनौलो महाकाली यातायातद्वारा सञ्चालित सु– प – प्र–०२–००१ ख ००९८ नम्बरको बस आज विहान सडकबाट दुई सय मिटर तल खसेको थियो । दुर्घटनामा १० जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । दुर्घटनामा ३० जना घाइते भएका ती मध्ये नौ जनालाई बुटवल ‘रिफर’ गरिएको बताईएको छ ।
यसरी पूर्व पश्चिम राजमार्ग या हाइवेमा नै सवारी साधनहरु एक आपसमा ठोक्किने, पुलबाट खस्ने या यस्तै विविध घटनाक्रमका कारण नागरिकहरुले जीउ ज्यान बचाउन नसक्नु निकै दुखदः कुरा हो । सडक दुर्घटनाका कारण आम नागरिकहरु चिन्तित बन्न थालेका छन् । कतिवेला के हुने हो भनेर डराउनुपर्ने अवस्था छ । गाउँबाट शहर जाने मात्रै होइन, एउटा जिल्लाबाट अर्को जिल्ला या एउटा गाउँबाट अर्को गाउँ जाँदा पनि चिन्तित बन्नुपर्ने अवस्था छ । सवारीको स्पिड बढी हुनु, चालकको लापरबाही हुनु, थोत्रा गाडिहरु चलाउनु जस्ता विविधि क्रियाकलापले सडक दुर्घटना बढेको सजिलै आँकलन गर्न सकिन्छ ता पनि यसलाई रोक्न सकिने सम्भावना अँझै भेटिएको छैन । एकले अर्कोलाई जित्ने, उछिन्ने, मादक पदार्थ सेवन गरेर सवारी चलाउने, लामो दुरीको यात्रामा एउटै चालकले चलाउनुपर्ने जस्ता कारणले पनि घटनाक्रम बढेको देख्न सकिन्छ । तर जे जसरी घटना घटेपनि अकालमै ज्यान गुमाउनुपर्ने चिन्ताको विषय बनेको छ ।
विकसित मुलुकहरुमा निकै सुरक्षित यात्रा हुने गरेका खवर सुन्न सकिन्छ । एउटा सिस्टममा सवै चल्ने गर्दछन् भन्ने सुनिन्छ । तर नेपाल जस्ता अल्पविकसित मुलुकहरुमा विकास संगसंगै विनासका घटनाहरु निकै बढेकोले समस्या भएको छ । पछिल्लो समय कुनै पनि कुराले यो मुलुकमा बस्न मन नपराउने युवाहरु बढेका छन् । राष्ट्रियताको भावना कमजोर बनेको छ । युवाजति विदेश पलायन हुने क्रम बढ्दो छ । सडक दुर्घटनासित युवा जनशक्ति जोडिन पुगेको छ । विकास निर्माणमा जुट्नुपर्ने युवाशक्ति आज विदेशिएको छ । यसरी सडक दुर्घटना विषय एउटा देखिए पनि समग्र देशको ऐना यसबाट देख्न सकिन्छ । त्यसैले सरकार, नागरिक समाज र सरोकारवाला निकायहरु सवैको ध्यान यस प्रकारका गतिविधिहरुमा जानुपर्दछ र सडक दुर्घटना लगायतका समस्या समाधान गर्नुपर्दछ ।