कार्तिक १९, सल्यान । सल्यानका ३ स्थानीय तहका २४ वटा सामुदायिक विद्यालयमा समावेशी शिक्षाको पहुँच विस्तार तथा गुणस्तरीय सिकाइ वातावरण निर्माण गर्ने उद्देश्यका परियोजना सञ्चालन हुने भएको छ । जिल्लाको सिद्ध कुमाख, कुमाख र दार्मा गाउँपालिकाका २४ विद्यालयलाई समेटेर सञ्चालन गर्न लागिएको परियोजनाले अपाङ्गता भएका बालबालिका, सीमान्तकृत तथा सङ्कटासन्न अवस्थामा रहेका बालबालिकालाई शिक्षाको मूलधारमा ल्याउनुका साथै विद्यालय छाड्ने र जोखिम न्यूनीकरणमा जोड दिनेछ ।
“कोशिस” राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्बन संगठन, बल्खु काठमाडौंको आयोजना तथा फेल्म नेपालको साझेदारीमा सञ्चालन हुने “समावेशी शिक्षा प्रवद्र्धन” परियोजनाको बुधबार बरलामा परिचयात्मक तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । सिद्ध कुमाख गाउँपालिकाका अध्यक्ष भरत गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख श्री शेरबहादुर रोका, सिद्ध कुमाख गाउँपालिकाका प्रशासन प्रमुख श्री अर्जुन जंग चन्द, उपाध्यक्ष श्री रामबहादुर बस्नेत र दार्मा गाउँपालिकाका उपाध्यक्ष श्री जुना मल्ल चन्द, कुमाख गाउँपालिकाका शिक्षा शाखा प्रमुख श्री दीपक चन्द लगायतले परियोजना कार्यान्वयन, स्थानीय तहको भूमिका र यसको प्रभावकारिताका विषयमा धारणा राखेका थिए। कार्यक्रममा कोशिसकाकार्यक्रमव्यवस्थापकश्री सुरेश भण्डारीले कोशिस राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्बन संगठको लक्ष्य उद्धेश्य कार्यक्षेत्र तथा लक्षित वर्गको बारेमा परिचय गराएका थिए भने फेल्म नेपालकाका परियोजना संयोजक श्री मनोज यादवले फेल्मको परिचय परियोजनागत समन्वय सहकार्य तथा क्रियाकलापको बारेमा र आगामि कार्ययोजना प्रस्तुतीकरण गरेका थिए ।

सन् २०२६ सेप्टेम्बरदेखि २०२९ डिसेम्बर सम्म सञ्चालन हुने परियोजनाको कुल अवधि तीन वर्ष चार महिना रहेको छ । परियोजनाका लागि सात जना कर्मचारी परिचालन गरिनेछ । परियोजनाले तीनवटै गाउँपालिकाका २४ विद्यालयमा समावेशी शिक्षाको अभ्यास विस्तार गर्दै सबै बालबालिकाका लागि समान पहुँच,सुधार गर्दै सहभागिता र सिकाइका अवसर अभिवृद्धि गर्ने लक्ष्य राखेको छ ।
परियोजनाको अवधिमा कुल १९ हजार ४२६ जना लाभान्वित हुने अपेक्षा गरिएको छ । तीमध्ये सात हजार ४२६ जना प्रत्यक्ष र १२ हजार जना अप्रत्यक्ष रूपमा लाभान्वित हुनेछन् । लाभान्वित हुने समूहमा ५०० जना अपाङ्गता भएका व्यक्ति रहने जनाइएको छ । परियोजनाले अपाङ्गता भएका बालबालिका, सीमान्तकृत तथा सङ्कटासन्न अवस्थामा रहेका बालबालिका, विद्यालय बाहिर रहेका तथा विद्यालय छाड्ने जोखिममा रहेका बालबालिका, अभिभावक तथा हेरचाह कर्ता, विद्यालय व्यवस्थापन समिति, शिक्षक, स्थानीय सरकार र शिक्षासँग सम्बन्धित सरोकारवालालाई लक्षित गरेको छ ।
विद्यालय सम्म पुग्न नसक्ने गम्भीर अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच सुनिश्चित गर्न ग्रामीण तथा दुर्गम क्षेत्रमा ’घरमै विद्यालय’ (School at Home) कार्यक्रम सञ्चालन गरिनेछ । यसअन्तर्गत १२ वटा विद्यालयमा घरमै विद्यालय कक्षा सञ्चालन गर्ने योजना छ । कार्यक्रम प्रभावकारी बनाउन नौ जना स्थानीय स्वयंसेवक तथा शिक्षकलाई पाँच दिने शिक्षण विधि सम्बन्धी तालिम दिएर परिचालन गरिनेछ । यसैगरी, समावेशी शिक्षा र सिकाइका लागि विश्वव्यापी रूपरेखा Universal Design for Learning (UDL) सम्बन्धी २४ जना शिक्षकलाई पाँचदिने प्रशिक्षक प्रशिक्षण तालिम प्रदान गरिनेछ । अन्य विद्यालयका शिक्षकका लागि दुईवटा विशेष शैक्षिक कार्यशाला सञ्चालन गरिनेछ । विद्यालयका लैङ्गिक सम्पर्क व्यक्तिलाई मनोसामाजिक परामर्श तथा गुनासो सुनुवाइ संयन्त्र सम्बन्धी पाँच दिने तालिम दिने योजना पनि परियोजनामा समेटिएको छ । बालबालिकाको मानसिक स्वास्थ्य र मनोसामाजिक अवस्थालाई ध्यानमा राख्दै २४ वटै विद्यालयमा मानसिक स्वास्थ्य तथा मनोसामाजिक परामर्श एकाइ स्थापना गरिनेछ । ती एकाइका लागि आवश्यक शैक्षिक तथा सूचना मूलक सामग्री उपलब्ध गराइनेछ । विद्यालय सुधार योजना (SIP) माअपाङ्गता समावेशीविपद् जोखिम न्यूनीकरण (DiDRR) तथा सुरक्षा योजनालाई अनिवार्य रूपमा समावेश गराउन विद्यालय व्यवस्थापन समिति, शिक्षक र अभिभावकका लागि अभिमुखीकरण कार्यशाला सञ्चालन गरिनेछ । यसका साथै त्रैमासिक रूपमा अनुगमन तथा समीक्षा बैठक गरिनेछ । बालबालिकामा हुन सक्ने स्वास्थ्य समस्या तथा अपाङ्गताको प्रारम्भिक पहिचानका लागि विद्यालय स्तरमा स्वास्थ्य परीक्षण शिविर समेत सञ्चालन गरिनेछ । परीक्षणबाट पहिचान भएका बालबालिकाको आवश्यकता अनुसार उपचारात्मक सहयोगका लागि पहल गरिनेछ । २४ वटै विद्यालयमा बालक्लब गठन वा पुनर्गठन गरी खेलकुद तथा सिर्जनात्मक अतिरिक्त क्रियाकलाप सञ्चालन गर्न आवश्यक खेल सामग्री समेत सहयोग गरिनेछ ।
परियोजनाले विद्यालयमा मात्र नभई बालबालिकाका परिवार र समुदायको आर्थिक तथा सामाजिक अवस्थालाई समेत प्राथमिकतामा राखेको छ । विद्यालय छाड्ने जोखिममा रहेका बालबालिकाका परिवारको आर्थिक अवस्था सुधार गर्न १४० वटा अति विपन्न परिवार छनोट गरिनेछ । छनोट भएका परिवारलाई प्रति परिवार ३० हजार रुपैयाँ बराबरका साना व्यवसाय, बाख्रापालन वा व्यापार जस्ता जीविकोपार्जनका गतिविधिका लागि आवश्यक सामग्री सहयोग उपलब्ध गराइनेछ । यसले अभिभावकको आय आर्जनमा सुधार ल्याई बालबालिकालाई विद्यालयमा निरन्तरता दिन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
त्यस्तै, आवश्यकतामा रहेका ६० जना बालबालिकालाई ह्विलचेयर, वैशाखी, सेतो छडी तथा श्रवण यन्त्र जस्ता सहायक सामग्री उपलब्ध गराइनेछ । विद्यालयमा बालबालिकाले भोग्नु परेका समस्या तथा दुव्र्यवहारका विषयमा सुरक्षित रूपमा जानकारी गराउन २४ वटै विद्यालयमा गुनासो पेटिका राखिनेछ । जटिल स्वास्थ्य समस्या भएका ५० जना बालबालिकालाई अस्पतालसम्म पुग्न आवश्यक प्रेषण खर्चमा सहयोग गरिनेछ । स्थानीय तहमा समावेशी शिक्षा नीति तथा विद्यालय शिक्षा क्षेत्र योजना (SESP) निर्माणमा समेत परियोजनाले प्राविधिक सहयोग गर्नेछ । यसका लागि तीनवटै पालिकामा चार दिने सघन कार्यशाला सञ्चालन गरी कार्यदल गठन, नीतिगत मस्यौदा तयारी तथा आवश्यक प्राविधिक सहयोग उपलब्ध गराइनेछ ।
समावेशी शिक्षाको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय जनप्रतिनिधि, अभिभावक र सामुदायिक सरोकारवालाको क्षमता अभिवृद्धिमा पनि परियोजनाले जोड दिएको छ । स्थानीय तहमा नीतिगत बहस, पैरवी तथा आत्म सहयोग समूह (SHG) सुदृढीकरणका कार्यक्रम सञ्चालन गरिनेछ । स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाका लागि अपाङ्गता समावेशीकरण र बालअधिकार सम्बन्धी एक दिने सचेतना कार्यशाला आयोजना गरिनेछ । ६० जना अधिकारवालालाई समेटेर आत्म सहयोग समूह गठन तथा परिचालन गर्ने योजना छ । अपाङ्गता भएका व्यक्तिहरूको संस्था (OPD) सँग सहकार्य गरी १८ वटा सचेतना अभियान, सामाजिक बहस तथा अपाङ्गता दिवस सम्बन्धी कार्यक्रम संयुक्त रूपमा सञ्चालन गरिनेछ ।
परियोजनाको कार्यान्वयनलाई प्रभावकारी बनाउन सुरुको चरणमै पालिकास्तरमा सरोकारवाला सँग अभिमुखीकरण बैठक गरिनेछ । परियोजनाका कर्मचारीको क्षमता विकासका लागि तीन दिने विस्तृत कार्ययोजना तर्जुमा कार्यशाला सञ्चालन गर्नुका साथै मासिक समीक्षा बैठक मार्फत प्रगतिको मूल्याङ्कन गरिनेछ । स्थानीय तहमा विद्यालय शिक्षा क्षेत्र योजना निर्माण, नीतिगत सुधार, शिक्षकको क्षमता विकास, अभिभावकको सहभागिता तथा विद्यालयको भौतिक संरचना सुधारलाई एकीकृत रूपमा अघि बढाउने परियोजनाको लक्ष्य छ ।
कार्यक्रमको सञ्चालन परियोजना संयोजक हरिभक्त तिवारीले गरेका थिए । कार्यक्रममा तीनवटै गाउँपालिकाका शिक्षा, स्वास्थ्य, महिला तथा बालबालिका शाखाका प्रमुख तथा प्रतिनिधि, शिक्षक र कर्मचारीहरूको सहभागिता रहेको थियो । परियोजनाले निर्धारित कार्ययोजना अनुसार गतिविधि सञ्चालन गर्न सकेमा अपाङ्गता भएका तथा विभिन्न कारणले शिक्षाबाट वञ्चित बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउन, विद्यालय छाड्ने प्रवृत्ति घटाउन र सबै बालबालिकाका लागि सम्मानजनक तथा समावेशी सिकाइ वातावरण निर्माण गर्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

