मंंसिर ० ४, सल्यान ।

जिल्ला प्रहरी कार्यालय सल्यानले कार्तिक महिनामा जिल्लाभर भएका प्रहरी गतिविधि तथा कार्यसम्पादनको मासिक प्रगति विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार कार्तिक महिनामा सल्यानमा १७ वटा सवारी दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार दुर्घटनामा १७ वटा सवारीसाधन संलग्न रहेका थिए। दुर्घटनामा घाइते भएका ४० जनाको उद्धार गरिएको विवरणमा उल्लेख छ। दुर्घटनाको प्रमुख कारण तीव्र गति र चालकको लापरबाही रहेको प्रहरीले जनाएको छ। यस्तै, सवारीसाधनको ओभरलोड, यात्रुले ध्यान नदिँदा तथा सडकको चिप्लो, कच्ची र जीर्ण अवस्थाका कारण पनि दुर्घटना भएको विवरणमा उल्लेख छ।

प्रहरीको तथ्याङ्कअनुसार कार्तिक महिनामा विभिन्न शीर्षकमा २२ वटा मुद्दा दर्ता भएका छन्। तीमध्ये चारवटा मुद्दा फर्छ्यौट भएका छन् भने २१ वटा मुद्दा अनुसन्धानकै क्रममा रहेका छन्। जघन्य तथा गम्भीर अपराध, आर्थिक अपराध र अन्य अपराधका घटनासमेत दर्ता भएका छन्।

यसैगरी, विभिन्न मुद्दामा फरार रहेका १२ जना प्रतिवादीमध्ये तीन महिला र नौ पुरुष रहेका छन्। अदालतको फैसला कार्यान्वयनका क्रममा सात जना पक्राउ परेका छन्। उनीहरूबाट तीन वर्ष कैद र ३१ हजार ५०० रुपैयाँ जरिवाना असुल गर्नुपर्ने विवरणमा उल्लेख छ।

हराएका तथा फेला परेका व्यक्तिसम्बन्धी विवरणमा कार्तिक महिनामा पाँच जना हराएको र पाँचै जना फेला परेको जनाइएको छ। यस्तै, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धी र घरेलु हिंसा गरी एकएक उजुरी परेको विवरणमा उल्लेख छ।

ट्राफिक व्यवस्थापनतर्फ कार्तिक महिनामा २६१ वटा सवारीसाधनमाथि कारबाही गरिएको छ। उक्त कारबाहीबाट दुई लाख ३० हजार ५०० रुपैयाँ राजस्व संकलन भएको प्रहरीले जनाएको छ।

यसैगरी, अवैध मदिरा नियन्त्रण अभियानअन्तर्गत २७ बोतल तारा लन्डन एक्स्ट्रा ड्राई र ३५ बोतल ब्रिक्स रक्सी बरामद गरिएको छ। प्राकृतिक सम्पदाको दोहन नियन्त्रणतर्फ एक सवारीसाधनलाई आठ हजार रुपैयाँ जरिवाना गरिएको विवरणमा उल्लेख छ।

प्रहरीले समुदाय तथा विद्यालय केन्द्रित कार्यक्रमलाई समेत प्राथमिकता दिएको छ। कार्तिक महिनामा समुदाय केन्द्रित ५८ वटा कार्यक्रम सञ्चालन गरी दुई हजार ५३० जनालाई सहभागी गराइएको छ भने विद्यालय लक्षित तीनवटा कार्यक्रममार्फत २१५ जनालाई सहभागी गराइएको छ।

प्रहरीका अनुसार अपराध न्यूनीकरण, शान्ति सुरक्षा कायम, फरार प्रतिवादी पक्राउ तथा चोरी, लागूऔषध र लुटपाटजस्ता घटनाको नियन्त्रणका लागि जिल्लाभर गस्ती, चेकजाँच तथा जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइएको छ।

जिल्ला प्रहरी कार्यालय सल्यानले सार्वजनिक गरेको कार्तिक महिनाको मासिक प्रगति विवरणमा अपराध अनुसन्धान, ट्राफिक व्यवस्थापन, नागरिक सेवा तथा शान्ति सुरक्षा कायम गर्ने कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको उल्लेख छ।