नोखिराम थापा

विश्वव्यापी अवसर, उत्पादन र प्रविधिको विकासले साना मुलुकहरु नराम्ररी प्रभावित बनेका छन् । विश्व बजारमा साना र विपन्न राष्ट्रहरुको उत्पादनले प्रतिश्पर्धा गर्न नसक्दा पेशा र व्यबसायबाटै पलायन हुने अवस्था बनेको छ । आज कतिपय शक्तिशाली देशहरुले गरिब मुलुकका उद्योगधन्दाहरु समाप्त पारिसकेका छन् । गरिब मुलुकका कुनै पनि बस्तु विश्व बजारमा पुग्न नसक्दा पूर्णरुपमा परनिर्भर बन्ने अवस्था आउदैछ । प्रतिश्पर्धी बन्न नसक्दा आफ्ना उद्योगधन्दा र व्यवशाय बन्द गरेर लाखौं युवाहरु अर्काको देशमा ज्यालादारी काम गर्न गईरहेका छन् । यसले गर्दा स्वदेशी उद्योग व्यबसायसित जोडिएका कामदारहरु बेरोजगारबन्दैछन् । मालिक नै उद्योग बन्द गरेर विदेशिन थाल्यो भने कामकारको अवस्था झनै कस्तो होला, अवस्था निकै नाजुक छ ।बस्तु उत्पादनमा कमी आईरहेको छ । खेती गर्ने जग्गा बाँझो हुँदै गएका छन् ।अन्य उद्योग धन्दा वा व्यबशाय पनि उत्साहजनक छैनन् । एउटा व्यापार बन्द भयो भने त्यससंग सम्बन्धित व्यापारीहरु, ढुवानी कर्ताहरु, कामदारहरु र ग्राहकहरुसमेत प्रभावित हुन्छन् । तसर्थ युवा पलायन हुनु, उद्योगधन्दाबन्द हुनु र उत्पादन घट्नु भनेको मुलुकलाई दिर्घकालिन असर पर्ने कुराहरु हुन् ।
हामीले जबसम्म आफ्नो उत्पादन बढाउँदैनौं, तबसम्म हामी परनिर्भर नै रहन्छौं । व्यक्ति, घर परिवार र समाज आत्मनिर्भर नभै मुलुक आत्मनिर्भर हुन सक्दैन । कृषि प्रधान देशले केहि वर्ष यता वर्षेनी अरबौंको खाद्यान्न किन्ने गरेको छ । अरबौं रुपँयाको रासायनिक मल खरिद गर्ने गरेको छ । यसबाट मात्रै पनि थाहा हुन्छ कि हामी कति कम्जोर र्छौै, हाम्रो आर्थिक अवस्था कति कमजोर छ र हामी कति परनिर्भर हुँदैछौं भन्ने कुरा । कृषि क्षेत्रका लागि सरकारले मल उत्पादन कम्पनी किन खोल्न सकेको छैन । कृषकहरु समयमै मल पाउदैनन् । विश्व बजारमा विकास भएको प्रविधि नेपालमा विस्तार हुन सकेको छैन । आफ्नो देशमा कुनै पनि उद्योग व्यबसायको भविष्य नदेख्दा शहरदेखि गाउँसम्मका युवाहरु बैदेशिक रोजगारी नै अन्तिम विकल्प देखिरहेका छन् । यसर्थ पनि देशमा उत्पादन घट्दो क्रममा छ । गाउँ रित्तिन थालेका छन् । कोहि पढ्न भनेर शहर छिरेको छ । कोहि रोजगारी खोज्न भनेर शहर छिरेको छ । कोहि केटाकेटी पढाउन भनेर शहर छिरेको छ । शहर छिरेका युवाहरु पासपोर्ट बनाएर विदेशिने लाईनमा छन् । यसरी कृषि, उद्योग, व्यापार सवैक्षेत्रबाट युवाहरु पलाएन हुने र स्वदेशी उत्पादन घट्ने क्रममा छ ।
केहि वर्ष पहिलेसम्म प्रत्येक कृषकको घरमा आफूलाई चाहिने धेरै बस्तु उत्पादन गर्दथे । त्यतिवेला व्यबसायिक उत्पादन गर्नुपर्दछ भन्ने कुरालाई महत्व दिईयो । त्यतिवेला नागरिकहरु व्यबसायिक नभएपनि कमसेकम आत्मनिर्भर बन्ने अवस्था थियो । तर अहिले त न व्यबसायिक बन्ने अवस्था छ न पहिलेजस्तो आत्मनिर्भर बन्न । धान, चामल, गहुँ, मकैं, दाल, तरकारी, चट्नी, मासु, अण्डा, फलफूल लगायत सवै बस्तुहरु किनेर खाने बानी हाम्रो भैसकेको छ । चाँडै नै धेरै कमाउने सोचमा युवाहरु बाजेले गर्दै आएको पेशा छोडेर विदेशीरहेका छन् । यसले गर्दा तत्कालका लागि युवाहरुले कमाएर आफ्नो परिवारको खर्च धानेपनि देश पूर्णरुपमा परनिर्भर बन्दै गएको छ । स्वदेशी उत्पादन घट्दै जाँदा गर्दै आएको पेशा व्यबसाय पनि बन्द गर्नुपर्ने अवस्था बनेको छ । जानी नजानी दीर्घकालिन रुपमा मुलुकलाई परनिर्भतातिर धकेल्न हामी सवै लागिपरेका छौं ।