जेठ २७,सल्यान ।

सल्यान जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गर्ने प्रक्रिया अगाडि बढाउने निर्णय गरिएको छ। स्वास्थ्य सेवा कार्यालय सल्यानको आयोजनामा मंगलबार सम्पन्न जिल्ला खोप समन्वय समितिको बैठकले जिल्लाका सबै स्थानीय तहमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा सम्पन्न भइसकेको निष्कर्ष निकाल्दै प्रदेश खोप समन्वय समिति, सुर्खेतसमक्ष जिल्ला घोषणा गर्न अनुरोध गर्ने निर्णय गरेको हो। जिल्ला समन्वय समितिका उपप्रमुख तथा जिल्ला खोप समन्वय समितिका उप(संयोजक असबिर बुढाथोकीको अध्यक्षतामा बसेको बैठकमा स्वास्थ्य सेवा कार्यालय सल्यानका जनस्वास्थ्य अधिकृत ताराप्रसाद रिजालले जिल्लाको खोपसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए।बैठकमा प्रमुख जिल्ला अधिकारी महेन्द्रकुमार सापकोटा, जिल्ला समन्वय सूचना अधिकारी निमबहादुर वली, शारदा नगरपालिकाकी उपप्रमुख सुस्मिता सापकोटा, गैसस महासंघ सल्यानका अध्यक्ष रामचन्द्र रेग्मी तथा नेपाल रेडक्रस सोसाइटी सल्यान शाखाका सभापति यौवन प्रकाश श्रेष्ठ लगायतको सहभागिता रहेको थियो।

बैठकमा प्रस्तुत प्रतिवेदनअनुसार गत जेठ ७ गतेदेखि जेठ २५ गतेसम्म जिल्लाका सबै १० वटै स्थानीय तहले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा सम्पन्न गरिसकेका छन्। जिल्लामा ० देखि १५ महिनासम्मका ३ हजार ९२४ जना, १६ देखि २३ महिनासम्मका २ हजार ४१७ जना तथा १६ देखि ५९ महिनासम्मका ९ हजार २८८ जना बालबालिकाले नियमित तथा पुनः खोप सेवा प्राप्त गरिसकेको प्रतिवेदनमा उल्लेख गरिएको छ। खोप योग्य कुनै पनि बालबालिका खोप सेवाबाट वञ्चित नरहेको सुनिश्चित गर्दै सल्यान जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गर्न प्रदेश खोप समन्वय समिति सुर्खेतसमक्ष अनुरोध गर्ने निर्णय बैठकले गरेको छ।

बैठकले खोप कार्यक्रमको दिगोपना कायम राख्दै आगामी दिनमा समेत कुनै पनि बालबालिका खोप सेवाबाट नछुट्ने वातावरण सुनिश्चित गर्न सबै सरोकारवाला निकायबीच समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।