सल्यान, असोज ८ गते । लगातारको वर्षासँगै सडकमा हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सल्यानले जिल्लाका तीन सडकखण्डमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार नेपालका धेरै भु भाग मध्य सल्यानमा समेत असोज ८ देखि ११ गतेसम्म मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले प्रशासनले रातिको समयमा सडक बन्द गर्ने निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालय सल्यानले जारी गरेको सूचनाअनुसार असोज ८ गतेदेखि असोज ११ गतेसम्म बेलुका ५ बजेदेखि बिहान ६ बजेसम्म सम्बन्धित सडकखण्डमा सवारी आवागमन बन्द रहनेछ । प्रशासनले राप्ती राजमार्गअन्तर्गत लुहाम–कपुरकोट–तुलसीपुर सडकखण्ड, राप्ती राजमार्गअन्तर्गत बाँङ्गेलाखुरी–झुल्नेटा सडकखण्ड तथा तुलसीपुर–कालिमाटी–सुर्खेत सडकखण्डअन्तर्गत कालिमाटीदेखि काल्चेसम्मको सडकखण्डमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाएको हो ।

वर्षाका कारण सडकमा बाढी, पहिरो, गेग्रान तथा अन्य जोखिम निम्तिन सक्ने भएकाले सम्भावित दुर्घटना तथा जनधनको क्षति न्यूनीकरणका लागि यस्तो व्यवस्था गरिएको जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ । प्रशासनले सडक प्रयोग गर्ने यात्रु तथा चालकलाई तोकिएको समयको पालना गरी सुरक्षित यात्राका लागि सहयोग गर्न आग्रह गरेको छ । सडकको अवस्था तथा मौसममा हुने परिवर्तनअनुसार आवश्यक सूचना र समन्वयका लागि जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय तथा जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रसँग सम्पर्क गर्न सकिने जनाइएको छ ।