असोज ०८, सल्यान । जिल्ला प्रशासन कार्यालय सल्यानले सेवाग्राहीलाई सहज र सरल रूपमा सेवा प्रवाह गर्ने उद्देश्यले विभिन्न सेवाहरू निःशुल्क उपलब्ध गराउने व्यवस्था गरेको छ । कार्यालयले एक सूचना जारी गर्दै नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र तथा विभिन्न सिफारिसलगायतका सेवाका लागि आवश्यक फाराम भर्ने, फोटोकपी तथा स्क्यान गर्ने र इमेलमार्फत कागजात पठाउने तथा प्राप्त गर्ने सेवा निःशुल्क उपलब्ध गराउने जनाएको हो ।

कार्यालयका अनुसार सेवाग्राहीको सहजताका लागि नागरिक सहायता कक्ष तथा सम्बन्धित शाखामार्फत यी सेवाहरू उपलब्ध गराइनेछ । जिल्ला प्रशासन कार्यालयमा प्रयोग हुने सबै प्रकारका निवेदन तथा फाराम भर्ने सेवा, राष्ट्रिय परिचयपत्र र राहदानीका लागि अनलाइन फाराम भर्ने सेवा, फोटोकपी तथा स्क्यान सेवा र इमेलमार्फत पत्राचार गरी आवश्यक अभिलेख पठाउने तथा प्राप्त गर्ने र प्रिन्ट सेवा निःशुल्क प्रदान गरिने सूचनामा उल्लेख छ ।

कार्यालयले सेवाग्राहीलाई आवश्यक सहयोगका लागि नागरिक सहायता कक्ष वा सम्बन्धित शाखामा सम्पर्क गर्न अनुरोध गरेको छ । सेवाग्राहीबाट अनावश्यक शुल्क असुली नहोस् र प्रशासनिक सेवा थप सहज, सरल तथा सेवाग्राहीमैत्री बनोस् भन्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको कार्यालयले जनाएको छ । जिल्ला प्रशासन कार्यालय सल्यानले २०८३ असोज ५ गते जारी गरेको सूचनामा कार्यालयबाट उपलब्ध हुने निःशुल्क सेवाबारे सेवाग्राहीलाई जानकारी गराएको हो ।