बुटवल, जेठ ३० गते । लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०७९र८० को नीति तथा कार्यक्रम पारित भएको छ । आइतबार बसेको प्रदेश सभाको १०औँ अधिवेशनअन्तर्गतको १०औँ बैठकले प्रदेश सरकारको आर्थिक वर्ष २०७९र८० को नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।
यसअघि प्रदेश सरकारको नीति तथा कार्यक्रममाथि प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले दर्ता गराउनुभएको संशोधन प्रस्ताव फिर्ता लिनुभएको थियो । त्यसअघि बैठकमा प्रदेश सभाका सदस्यले राखेको जिज्ञासाको जवाफ दिँदै लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले सबैको सहकार्य र सहमतिबाटै प्रदेशको विकास गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।
उहाँले लुम्बिनी प्रदेशको आर्थिक वर्ष २०७९र८० को नीति तथा कार्यक्रमले प्रदेशको विकासमा एक तह उचाइ छुने बताउँदै कार्यक्रमले निर्धारण गरेको प्राथमिकताअनुसार प्रदेश सरकारले काम अघि बढाउने प्रतिबद्धता जनाउनुभयो ।
उहाँले पुँजीगत खर्च चुनौतीको विषय बने पनि आगामी दिनमा यही कर्मचारी र जनशक्ति प्रयोग गरेर अधिकतम बजेट खर्च गर्ने उल्लेख गर्नुभयो । मुख्यमन्त्री केसीले दायाँबायाँ आँखाबाट भन्दा पनि प्रदेशबाट जनतालाई देख्ने हो भने सबै समस्या समाधान हामीभित्रैबाट हुन्छ भन्दै आगामी दिनमा खर्च गर्ने संरचनामा सरकारले सुधार गर्ने बताउनुभयो ।
सबैको सल्लाह र सुझावका आधारमा नयाँ बजेट आउने उल्लेख गर्दै मुख्यमन्त्री केसीले प्रदेशको सामाजिक सांस्कृतिक रूपान्तरणमा सबैले अपनत्व महसुस गर्ने बताउनुभयो । मुख्यमन्त्री केसीले प्रदेश सरकारले बाँकी कार्यकालमा जनताको मन छुने गरी काम गर्ने बताउँदै प्रदेश सरकार सबैले भरोसा गर्ने भएको उल्लेख गर्नुभयो ।
प्रदेश सरकारसँग केही गुनासो छ भने सम्बोधन गर्न प्रदेश सरकार तयार रहेको बताउँदै उहाँले सबैको साथ र सहकार्यबाटै प्रदेशको विकास सम्भव हुने उल्लेख गर्नुभयो । त्यसअघि लुम्बिनी प्रदेश सभाका सदस्य भोजप्रसाद श्रेष्ठले नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै बुटवललाई आर्थिक राजधानी भन्ने तर त्यस अनुसारको काम भने केही नगर्ने भन्दै नीति तथा कार्यक्रम कार्यान्वयनमा आशङ्का रहेको बताउनुभयो । प्रदेश सरकारको आर्थिक वर्ष २०७९र८० को बजेट यही असार १ गते अपराह्न ४ बजे प्रदेश सभामा प्रस्तुत हुँदैछ ।
