असोज ७, कपुरकोट सल्यान । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कपुरकोट गाउँपालिका–५ को वडा भेला शीतल बजारमा सम्पन्न भएको छ । वडा सभापति रामबहादुर घर्तीको सभाध्यक्षतामा सम्पन्न भेलामा गाउँपालिका कार्यवाहक अध्यक्ष काशीराम रेउले प्रमुख अतिथि तथा गाउँपालिका सचिव चुडामणि पुन विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो ।
भेलामा गाउँपालिका सह–सचिव झरना विक, संगठन विभाग उपप्रमुख मित्रलाल खड्का, वडा कोषाध्यक्ष पवित्रा बोहरालगायत पार्टीका समर्थक तथा शुभेच्छुकहरूको सहभागिता रहेको थियो । भेलामा वडा तहदेखि पार्टी संगठनलाई थप व्यवस्थित र मजबुत बनाउने विषयमा छलफल तथा अन्तरक्रिया गरिएको थियो । आगामी दिनमा वडाका विभिन्न टोलमा टोल कमिटी गठन गरी संगठन विस्तारलाई प्राथमिकताका साथ अघि बढाउने निर्णय गरिएको जनाइएको छ ।
यसैबीच, अधिवेशनबाट निर्वाचित वडा सचिव तिलक घर्ती मगर रोजगारीका सिलसिलामा देशबाहिर गएपछि रिक्त रहेको वडा सचिव पदमा प्रकाश पुनलाई मनोनित गरिएको छ । नवनियुक्त वडा सचिव पुनलाई प्रमुख अतिथि, विशिष्ट अतिथिलगायतले टीका तथा खादा लगाएर बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको थियो । भेलामा पार्टीलाई थप सक्रिय, व्यवस्थित र जनमुखी बनाउँदै अघि बढाउने विषयमा समेत छलफल भएको थियो । कार्यक्रमको सञ्चालन वडा उपसभापति राहुल विकले गर्नुभएको थियो ।

