काठमाडौँ, २४ मंसिर ।
एमाले अध्यक्ष केपी ओलीले सम्बोधन नसक्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मञ्च छाडेका छन् । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा शुभकामना दिने क्रममा ओली ड्यासमा पुग्दा प्रचण्ड र नेपाल आफ्नो सोफामा थिएनन् ।
ओली महाधिवेशनको उद्घाटन सुरु भएपछि केही ढिला गरी आएका थिए । तर, उनी प्रचण्ड र नेपाल लहरैको सोफामा बसेनन् । उनी प्रधानमन्त्री शेरबहादुर देउवाभन्दा पल्लोपट्टि गए, जहाँ नेता रामचन्द्र पौडेल बसेका थिए । पौडेल सोफाबाट उठेपछि ओली बसेका थिए । ओलीले प्रचण्ड र नेपालको भाषण सुने पनि ओलीले भाषण गर्न थालेपछि प्रचण्ड र नेपाल पहिले नै उठेर हिँडेका थिए ।
ओलीको भाषणले गति लिँदै गर्दा हुँटिङमा पनि भैरहेको थियो त्यही बेलामा माइक काटियो । त्यसपछि ओली अब शेरबहादुरजीको बोल्ने पालो भन्दै मञ्चतिर गए । तर फेरि विश्वप्रकाश शर्माले प्राविधिक समस्याले गर्द माइक काटिएको भन्दै पुनः बोल्न अनुरोध गरेपनि ओलीले शुभकामनामात्र दिएर मञ्चबाट बिदा भए ।
