काठमाडौँ भाद्र १० गते, ।
प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र निर्वाचन आयोगविरुद्ध एमाले अदालत जाने भएको छ । बिहीबार बसेको एमाले केन्द्रीय समिति बैठकले पार्टीले कारवाही गरेका सांसदहरुलाई सभामुख अग्नि सापकोटाले सूचना टाँस नगरेको र निर्वाचन आयोगले पनि पार्टीले कारवाही गरेकाहरूलाई समेत सनाखत गराएर नयाँ पार्टी गठनमा मान्यता दिएको भन्दै अदालत जाने निर्णय गरेको हो ।
माधवकुमार नेपालसहित १४ जनालाई सांसद पदबाट निलम्बन गरेको सूचना एमालेले १ भदौमा संघीय संसद सचिवालयलाई जानकारी गराए पनि सचिवालय त्यसको सूचना जारी नगरेपछि एमाले सभामुखविरुद्ध अदालत जाने भएको हो ।
‘निर्वाचन आयोगबाट केही विवादास्पद निर्णयहरु भएका छन् । पार्टीले कारवाही गरेर त्यसको सूचना दिएका व्यक्तिहरुलाई समेत गणना गरेर नयाँ पार्टी गठनमा सनाखत गराउने, अनुपस्थित भएका व्यक्तिहरुलाई पनि सनाखत गराउने लगायतका गलत कामहरु भएका छन्’ प्रदीप ज्ञवालीले भने, ‘हामी यसको कानुनी प्रतिवाद गर्छौ ।’
एमालेले यसअघि पार्टी एकताका लागि तयार पारेको १० बुँदे प्रस्तावलाई शीघ्र कार्यान्वयन गर्ने भएको छ । स्थायी समिति बैठकबाट पारित १० बुँदे एकता प्रस्ताव केन्द्रीय समिति बैठकले अनुमोदन गर्दै शीघ्र कार्यान्वयन गर्ने निर्णय गरेको हो ।
