एजेन्सी
भारत र पाकिस्तानी सेनाबीच जम्मु–कस्मीरस्थित नियन्त्रण रेखामा शुक्रबारदेखि लगातार भीडन्त भएको छ। भीडन्तमा परी भारतका तीन र पाकिस्तानका चार सैनिकको ज्यान गएको बीबीसी हिन्दीमा खबर छ।

पाकिस्तानी पक्षले नियन्त्रण रेखानजिक रहेको गुरेज र उरीसमेत धेरै स्थान गोली हानेको भारतीय सेनाले आरोप लगाएको छ।

पाकिस्तानी सेनाले पनि भारतमाथि संघर्षविराम उल्लंघन गरेको आरोप लगाएको छ। पाकिस्तानको मुजफ्फरावादस्थित स्टेट डिजास्टर म्यानेजमेन्ट अथोरिटीले एक विज्ञप्ति जारी गर्दै भारतीय सेनाले शुक्रबार नीलम र झेलम भ्यालीमा सिजफायर उल्लंघन गरेको जनाएको छ।

गोली हानाहानमा आफ्ना तीन सैनिकसहित ६ जनाको मृत्यु भएको भारतीय सेनाले जानकारी दिएको छ। भारतीय सुरक्षाबलका तीन सैनिक घाइते भएका छन्।

पाकिस्तानले पनि आफ्ना चार सैनिकको ज्यान गएको २३ जना घाइते भएको जानकारी दिएको छ। साथै, भारतीय सैनिकले हानेको गोली लागेर चार जना गैरसैनिक नागरिकको पनि ज्यान गएको जनाएको छ।

श्रीनगरस्थित भारतीय सेनाको चिनार कर्प्सले पाकिस्तानले मोर्टार र अन्य हतियार प्रयोग गरी आक्रमण गरेको आरोप लगाएको छ।

 

thahakhabarबाट