फागुन २६, सल्यान ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज भएर पुरानै पार्टीहरुमा फर्किएपछि सल्यानमा नेकपाको नाम हटाएर नेकपा एमालेको कार्यालय पुनः स्थापना गरिएको छ । सल्यान सदरमुकाममा रहेको मदनआश्रीत स्मृती भवनमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) को बोर्ड लेखिएको हो ।
माओवादी केन्द्र र एमाले एकिकरण पछि बनेको नेकपाले सयुक्त कार्यलय पनि सोही भवनमा संचालन गरिएको थियो । वोर्ड अनावरण कार्यक्रममा एमाले जिल्ला अध्यक्ष गोविन्द पुन, नेताहरु लोक बहादुर डाँगी, कुलबहादुर गिरी, भीम बहादुर सेन, दान बहादुर केसी लगाएतको उपस्थिती रहेको थियो ।
प्रकाश ज्वाला लगाएतका नेताहरुले माफी माग्नुपर्ने
कार्यालय अनावरण कार्यक्रममा बोल्दै एमाले जिल्ला अध्यक्ष गोविन्द पुनले प्रकाश ज्वाला लगाएतका नेताहरुले माफी मागेर आत्मआलोचना सहित एमालेमा फर्किनुपर्ने बताए ।
एकीकरण गरिएको पार्टी भित्र गुटबन्दी गरेर अध्यक्ष केपी ओलीलाइ सिध्याउन खोजेको र जिल्लामा पनि आफुहरु विरुद्ध कुप्रचार गरेकोले पार्टीको जिल्ला बैठकमा माफी माग्नुपर्ने बताए । उनले भने, ‘हिजो उहाँहरुले यही खलंगाको बसपार्कमा मन्च बनाएर हामीलाइ कान्छो राप्रपा भन्दै गाली गर्नु भएको थियो । हामीलाइ झोला बोकेर घर फर्किनुपर्छ भन्नु भएको थियो । आज हाम्रै लाइनमा आउनुपर्ने अवस्था आएको छ । अब पार्टी कमिटीको बैठकमा आत्मआलोचना गरेर माफी माग्नुपर्छ र ति शब्दहरु फिर्ता लिनुपर्छ ।’
यति गरेपछि पार्टीभित्र सम्मान तरिकाको व्यवहार गरिने र अपमान नगरिने उनले बताए । उनले अब एमाले एक भएर सल्यानमा एमालेको लाल किल्ला बनाउने बताए । कार्यक्रममा बोल्दै नेता लोक बहादुर डाँगीले तत्कालिन अवस्थामा बाध्यतात्मक अवस्थामा नेतृत्वले पार्टी एक गरेपनि तल्लो तहका नेता–कार्यकर्तामा भावना नमिलेको बताए । पार्टी एकतामा केपी ओली र प्रचण्डको हस्ताक्षेर भएपनि माधव नेपाल हावी भइ केपी विरुद्व लागेपछि यो अवस्था सृजना भएको उनले बताए ।
सल्यानमा प्रकाश ज्वालाको टिमले आफुहरु विरुद्व सडकबाटै लागेकोले अब एमालेमा आउँदा माफि माग्नुपर्ने पनि उनले बताए । उनले भने, ‘अब उहाँहरुसँग कुन खालको नैतिकता छ । सबै नैतिकता हरायो । अब अलिकति नैतिकता भनेको माफी माग्नु हो ।’ एमालेका सबै पंतिहरु लागेर पार्टीलाइ कृयाशिल बनाउनुपर्ने उनले बताए ।
