फागुन ८, सल्यान ।

गणेशमान सिहद्धारा लिखित ‘केही कथा केही कविता’ नामक पुस्तकको शनिबार सल्यान खलंगामा लोकार्पण गरिएको छ ।

प्रदेशसभा सदस्य गुलावजंग शाहको प्रमुख आथित्यता तथा अन्य विशिष्ट व्यक्तिहरुको उपस्थितीमा पुस्तकको लोकार्पण गरिएको हो ।समाजमा भइरहेका घटना नजिकबाट अध्ययन गरेर कविता र कथाको माध्यमबाट रुपान्तरणको संकल्प बोकेको लेखक गणेशमान सिहंले बताए ।

कार्यक्रममा बोल्ने वक्ताहरुले यो पुस्तक पढ्नेहरुका लागि पाठशाला भएको बताएका छन् । पुस्तकको बारेमा टिप्पनी गर्दै बिर बहादुर सेजवालले यो पुस्तकले जीवन कसरी चलाउन सकिन्छ भन्ने मार्गनिर्देशन गरेको बताए ।

मान्छेमा रचना गर्ने बानी हरायो -शाह

कार्यक्रमका प्रमुख अतिथी प्रदेश सांसद शाहले पछिल्लो समय मान्छेमा रचना गर्ने बानी हराउँदै गएको बताए । प्रविधिको विकास संगै मान्छेमा सिर्जना र रचना गर्ने बानी हराउँदै गएको र मान्छेहरु अल्छि बन्दै गएको उनले बताए ।

 

उनले राजनीतिलाई सहि ढगंले बुझे मात्र समाज रुपान्तरण गर्न सकिने बताए । समाजमा हुने जुनसुकै काममा पनि राजनीतिले नेतृत्व गर्ने भएकाले समाजलाई शान्तिपुर्ण ढगंले अगाडी बढाउनको लागि सबैको भुमिका महत्वपुर्ण रहेको बताए ।

कार्यक्रममा पुर्व शिक्षा राज्यमन्त्री राजेन्द्र बहादुर शाह, पुर्व सांसद नेत्रलाल श्रेष्ठ, जिल्ला समन्वय समितीका अध्यक्ष केश बहादुर बिस्ट, भुमी सुधार आयोग सल्यानका अध्यक्ष लोक बहादुर डाँगी, नेपाली काँग्रेस सल्यानका सभापति गणेश चन्द, नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष प्रतीक इच्छुक शर्मा लगाएतकाले मन्तव्य राखेका थिए ।

लेखक गणेशमान सिंहको अध्यक्षता तथा साहित्यकार इन्द्र भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन भुम प्रकाश भण्डारीले गरेका थिए ।

यो पुस्तकसँगै गनेशमानका हालसम्म ३ वटा पुस्तक प्रकाशित भएका छन् । पहिलो यो देश र म, दोस्रो सल्यान इतिहास र सपना, र तेस्रोमा आज लोकार्पण भएको केहि कथा केहि कविता ।