सल्यान, श्रावन १२ गते शुक्रबार ।
सल्यानमा सवैका लागि दिगो खानेपानी, सरसफाई तथा स्वच्छता आयोजना (सुस्वा) का कर्मचारीहरुको लागि ५ दिने तालिम शुक्रबार बरला सल्यानमा सम्पन्न भएको छ । तालिममा जिल्लाका बन्गाडकुपिन्डे नगरपालिका, छत्रेश्वरी गाउँपालिका र सिद्धकुमाख गाउँपालिकाका वास संयोजक, वास सहजकर्ता, वास प्राविधिक, सूचनाप्रविधि अधिकृत र महिला शाखाका प्रमुख÷प्रतिनिधि लगायत गरी २५ जनाको सहभागिता रहेको थियो । तालिममा विशेष प्रशिक्षकको रुपमा राजु तिरुवा, छत्र चौधरी र प्राविधिक विशेषज्ञ नारायण सिंह खवास रहनुभएको थियो भने वास सल्लाहकार राजकुमार डिसि र पवन कुमार ओलीले पनि तालिमको शुरुदेखि अन्त्यसम्म सहजीकरण तथा प्रशिक्षण गर्नुभएको छ । तालिम अवधिमा खानेपानी, सरसफाई तथा स्वच्छता परियोजनाको पृष्ठभूमि र नेपालमा कार्यान्वयनको अवस्थाबारे स्पष्ट जानकारी दिईएको छ । त्यस्तै खानेपानी, सरसफाई तथा स्वच्छता कार्यक्रम र आयोजनाका विभिन्न चरणहरु, प्रभावकारी कार्यान्वयन, मर्मत सम्भार र दिगोपनाका लागि आगामी कार्ययोजना लगायत विविध विषयमा सहजीकरण गरिएको छ ।