सल्यान २७ असार ।
सल्यानको शारदा नगरपालिका वडा नं. ३ निवासी देवराज आचार्य अहिले ७२ वर्ष पुगीसक्नु भएको छ । यो उमेरमा पनि उहाँ कृषक तथा उपभोक्ताको हितका लागि काम गर्दै आउनु भएको छ । उहाँले दिएको जानकारी अनुसार सुकेखोला जिउनारे खेतको सिंचाईकूलो गत वर्षकै वर्षातका कारण पहिरोले अबरुद्ध भएको थियो । सिंचाई कूलो अबरुद्ध भएपछि उहाँले आर्थिक वर्ष ०७९।०८० को पहिलो चौमासिकमा शारदा नगर प्रमुख समक्ष कुरा राखी योजना माग गर्नुभएको थियो । सुकेखोला नजिकै रहेको उक्त सिंचाई कुलोबाट ९ घरधुरी भन्दा बढीको जमीन सिंचाई हुने गर्दछ । सोहि कुलो मर्मतको लागि गरेको योजना माग बमोजिम पालिकाबाट सहयोग हुने बचन पनि आचार्यले पाउनुभयो ।

नगरपालिकाबाट शुरुमा उपभोक्ताले नै मर्मत गर्नुपर्ने र काम सम्पन्न भएपछि वडाको सिफारिस बमोजिम रकम भुक्तानी हुने आश्वासन उहाँले पाउनुभयो । उहाँले जसोतसो आफैले पैंसा खर्च गरेर भ्याकुलोडर लगाएर कुलो मर्मत गराउनुभयो । काम सम्पन्न भएपछि नगरपालिकाले भने बमोजिम प्रथम पटक फाल्गुन १७ गतेको वडाको सिफारिस सहित रकम माग गर्नुभयो । तर रकम भुक्तानी माग गरेको लामो समय वितेपनि रकम निकासा भएन । यसरी करीब ४ महिना वितिसक्दा पनि भुक्तानी नभएपछि उहाँले ताकेता गर्नुभयो । नगरपालिकामा पटक पटक धाउनु भयो । नगरपालिकाले रकमभुक्तानीका लागि असार २२ गते दोस्रो पटक वडाको सिफारिस माग गरेको आधारमा पुनः वडाको सिफारिस पेश गरेको उहाँको भनाई छ । सवै प्रक्रिया पुरा गरेर कागजात लेखाशाखामा गईसकेपछि अब त भुक्तानी हुन्छ कि भन्ने बेलामा अन्तिममा सिस्टम नै बन्द भएर निकासा हुन नसकेको लेखाले जानकारी दिएको उहाँको भनाई छ । तर आफ्नो भन्दा पछि पेश भएका योजनाहरुको समेत भुक्तानी भएको र आफ्नो नभएको भन्दै उहाँले दुखेसो व्यक्तगर्नु भएको छ । यति सानो काममा पनि नगरपालिकाले आफूजस्ता यो बृद्ध उमेरका नागरिकहरुलाई समेत अनावश्यक दुख कष्ट दिएको भन्दै नगरपालिकाको कामगर्ने सिस्टममा नै कमजोरी भएको उहाँले दुखेसो व्यक्तगर्नु भएको छ ।

वडाको सिफारिस