सल्यान २६ कात्तिक ।
कपुरकोट गाँउपालिका वडा नं. ६ मा परापुर्व कालदेखि लाग्दै आएको पौराणिक छायानाथ मेला यस वर्ष कात्र्तिक २७ गते लाग्ने भएको छ । मेलामा राष्ट्रिय संगितकर्मी संघ जिल्ला कर्यसमिति सल्यानको अयोजनामा चर्चित कलाकारहरुको साथमा बृहत साँस्कृतिक कार्यक्रमको पनि अयोजना गरिएको छ । मेलासंगै हुने बृहत साँस्कृतिक कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको कार्यक्रम संयोजक कलसिंह थापाले जानकारी दिएका छन् । साँस्कृतिक कार्यक्रममा हाँस्य कलाकार कुल बहादुर वली, गायिका हिरा राणा मगर, कलाकार याम थापा, प्रेम नारायण बि.क, झरणा चन्द, शान्ताराम सेन्चुरी, रविना खत्री, अवन्तिका सुनार, निर्मला मगर, सन्दिप कुस्मैया लगायतका कलाकारहरुको प्रस्तुति रहने साँस्कृतिक संयोजक चुडामणि पुनले जानकारी गराएका छन् । यो संगै खुल्ला रुपमा लाग्ने मेलामा स्थानिय लोक झाँकी, पैसेरु, सोरठी, टप्पा लगायतका लोपउन्मुख नृत्य पनि देख्न पाइने छ । साथै मेलामा सुन्तला, बदाम, तरुल, गन्जि, जेरी लगायतका फलफुल तथा अन्य परिकाहरु खाना पाईने मेलाका सल्लाहाकार दिनेश वलीले जानकारी गराएका छन् । पायक पर्ने जति मेला अवलोकनको लागि उपस्थित भईदिन सम्पुर्ण दर्शकलाई आयोजकले अनुरोध गरेको छ ।