जेठ ६, सल्यान ।
सल्यानको बागचौर नगरपालिकाको मयेरमा नेपाली कांग्रेस र उपमेयरमा माओवादी केन्द्र विजयी भएको भएको छ । मेयरमा नेपाली कांग्रेसका जनक गौतम र उपमेयरमा नेकपा माओवादी केन्द्रकी सुम्निमा डिसी ओली निर्वाचित भएकी छन् ।
गौतमले ६ हजार २७ मत ल्याएर निर्वाचित भएका हुन । उनका निकटतम प्रतिद्धन्द्धी माओवादी केन्द्रका कृति बहादुर पुनले ५ हजार ५ सय ९४ मत ल्याए । गौतमले पुनलाई ४३३ मतले पराजित गरेका हुन ।
यस्तै उपमेयरमा माओवादीकी सुम्निमा डिसी ओलीले ६ हजार ६ सय १४ मत ल्याएकी छन् । उनले नेपाली कांग्रेसकी दीपा बस्नेतलाई पराजित गर्दै जित हात परेकी हुन । कांग्रेसकी बस्नेतले ५ हजार २ सय ३४ मत ल्याएकी छन् ।
१२ वडा रहेको बागचौर नगरपालिकामा नेपाली कांग्रेसले ६ वटा वडा, माओवादी केन्द्रले ३, एमालेले २ र एकीकृत समाजवादीले १ वडा जितेका छन् ।
यससँगै सल्यानका दस वटै स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । दस पालिकामा नेपाली कांंग्रेस शारदा , बागचौर नगरपालिका, त्रिवेणी र कुमाख गाउँपालिकामा निर्वाचित भएको छ । यस्तै माओवादी केन्द्रले बनगाड कुपिण्डे नगरपालिका र दार्मा गाउँपालिकामा जित्दा एमालेले कालिमाटी र छत्रेश्वरी गाउँपालिकामा जित हात पार्न सफल भएको छ । एकीकृत समाजवादी भने कपुरकोट गाउँपालिकामा निर्वाचित भएको छ ।
गत २०७४ को चुनावमा नेपाली कांग्रेसले शारदा नगरपालिका, त्रिवेणी र छत्रेश्वरी गाउँपालिका जितेको थियो भने माओवादीले बागचौर नगरपालिका, दार्मा र कुमाख गाउँपालिका जितेको थियो । यस्तै एमालेले बनगाड कुपिण्डे नगरपालिका, सिद्ध कुमाख, कालिमाटी र कपुरकोट गाउँपालिका जित्न सफल भएको थियो ।
चार स्थानीय तह जितेको एमाले दुई र ३ स्थानीय तह जितेको माओवादी पनि दुई पालिकामा चित्त बुझाउन बाध्य भएको छ ।
बागचौरमा खुम्चियो माओवादी
माओवादीको आधारइलाकाको रुपमा परिचित बागचौर नगरपालिका यस पटकको निर्वाचनमा भने नेपाली कांग्रेसले भत्काइदिएको छ । २०७४ मा मेयर, उपमेयर र ८ वडाध्यक्ष जितेको माओवादी यस पटक भने उपमेयर र ३ वडाअध्यक्षमा सिमित बनेको छ । गत निर्वाचनमा २ वटा वडा मात्र जितेको कांग्रेस भने मेयर सहित ६ वटा वडामा जित हातपार्न सफल भएको छ ।
माओवादी भित्रको चरम असन्तुष्टि र अन्तरघातको सिकार बनेको माओवादी नेताहरुकै भनाई रहेको छ । माओवादी भित्रको घमण्ड, आडम्बर तथा पार्टी भित्रको अन्तरविरोधले गर्दा माओवादीले हार्नु परेको माओवादी एक नेताले बताए ।
