वैशाख १५, सल्यान ।
सल्यानको राजनीतिको केन्द्रबिन्दु मानिने बागचौर नगरपालिकामा चार पार्टीबाट चार जनाको मेयरमा उम्मेदवार परेको छ ।
नेकपा एमालेबाट तिलक मल्ल ‘क्षितिज’, नेपाली कांग्रेसबाट जनकराज गौतम, माओवादी केन्द्रबाट कृति बहादुर पुन ‘प्रकाण्ड’ र राप्रपाबाट अम्मर गिरीको उम्मेदवारी छ ।
बागचौरमा राप्रपाको संगठन कमजोर भएपनि अन्य तीन दलका उम्मेदवार कडा प्रतिसपर्धामा छन् । अहिले सबै दलहरु आफ्ना एजेन्डाहरु लिएर प्रचारप्रसारका लागि जनतामाझ मत माग्न लागिरहेका छन् ।
तिलक मल्ल
एमालेबाट उम्मेदवार बनेका तिलक मल्ल जनयुद्धदेखि राजनीतिमा सक्रिय छन् । उनि माओवादी हुँदै माओवादी फुटेर बनेको विप्लवको पार्टीमा केहि समय थिए । पछि उनि पुनः माओवादी हुँदै राम बहादुर थापा बादलसँगै एमालेमा आएका हुन् । उनि अहिले एमालेको कर्णाली प्रदेश कमिटी सदस्य छन् ।
सबैसँग घुलमिल हुने मल्ल लेखन तथा अध्ययन क्षेत्रमा पनि क्रियाशिल छन् । उनले काठमाडौंमा हुँदा पत्रिका समेत प्रकाशित गर्थे । उनले आफु मेयर भएपछि राष्ट्रिय तथा अन्तराष्ट्रिय फन्डहरु भित्र्याएर नगरको विकासमा ठुलो काम गर्ने दाबी गर्छन् ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले बागचौर नगरपालिकामा ३ हजार ६ सय ८० मत ल्याएर दोस्रो स्थानमा थियो । तर अहिले एमाले फुटेर अर्को दल एकीकृत समाजवादी पार्टी बनेको छ । यसले एमालेको मतमा फरक पार्ने छ । मल्ल भने एमालेको मत सँगै अन्य दलहरुको गुटबन्दीको मतलाइ आफुले क्याच गर्ने दाउँमा छन् ।
जनकराज गौतम
जनकराज गौतम कांग्रेसबाट बागचौरको मेयरमा उम्मेदवार बनेका छन् । गौतम कांग्रेस सल्यानको जिल्ला सहसचिव समेत हुन् । उमेरले ३६ वर्षका गौतम अहिलेसम्म अविवाहित छन् । युवा पुस्तासँग सजिलै घुलमिल हुने गौतम विद्यार्थी राजनीति देखि राजनीतिक यात्रा सुरु गरेका हुन् ।
गौतम उद्योग व्यवसायी समेत हुन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा बागचौरमा नेपाली कांग्रेस ३ हजार ५ सय ६५ मत ल्याएर तेस्रो स्थानमा थियो । अहिले यहाँ कांग्रेसको मत बढेको गौतमको दाबी छ । तर कांग्रेस भित्रको अन्तरद्वन्द्वले गौतमलाइ असर गर्छ कि गर्दैन भन्ने हेर्न बाँकी छ । गौतम कांग्रेको सबै टिमलाइ मिलाएर लिएको बताउँछन् ।
कृति बहादुर पुन
कृति बहादुर पुन ‘प्रकाण्डसिं’ नेकपा माओवादीबाट बागचौरको मेयरको उम्मेदवार बनेका छन् । पुन माओवादी केन्द्र जिल्ला समन्वय समिति सल्यानको संयोजक समेत हुन् । माओवादी जनयुद्धदेखि पुन सक्रिय राजनीतिमा छन् । सल्यानमा माओवादीका टप नेताहरु मध्यका पुन पनि एक हुन् ।
२०७४ मा बागचौर माओवादीले ५ हजार १ सय २१ मत ल्याएको थियो ।
पुनले टिकट पाएपछि बागचौरमा माओवादीका अन्य केही नेताहरू रुष्ट छन् । ती नेताहरूले पुनलाई कत्तिको सहयोग गर्छन् भन्नेमा पनि भर पर्ने देखिन्छ ।
अम्बर गिरी
अम्बर गिरी राप्रपाबाट बनेका मेयरका उम्मेदवार हुन् । बागचौरमा राप्रपा कमजोर शक्ति हो । अघिल्लो निर्वाचनमा राप्रपाले बागचौरमा १०० मत ल्याएको थियो ।
यो पटक राप्रपालाई जिताउनुपर्छ भन्दै गिरी गाउँघरतिर भोट माग्न थालेका छन् । राप्रपाका केन्द्रीय सदस्य समेत रहेका गिरी लेखापढी व्यवसायीमा पनि आवद्ध छन् ।
