वैशाख १०, सल्यान ।
सल्यानका विभिन्न पालिका प्रमुखका लागि अहिलेसम्म विभिन्न पार्टीबाट उम्मेदवारीमा ८ जना महिलाको नाम सिफारिसमा परेको छ । तर सर्वसम्मत उम्मेदवार टुंगिएको पालिकामा महिलाको नाम सिफारिस भएको छैन् । सर्वसम्मत नभएर धेरै आकंक्षि भएका पालिकाहरुमा महिलाको नाम सिफारिस भएको हो ।
माओवादी केन्द्रले बागचौर नगरपालिकाको प्रमुखमा पार्टीका केन्द्रीय सदस्य टिका बुढाथोकीको नाम प्रदेश कमिटीमा सिफारिस गरेको छ । बुढाथोकी सँगै माओवादी केन्द्रबाट बागचौर मेयरका लागि ६ जनाको नाम सिफारिस भएको छ । सिफारिस हुने अन्य ५ जना पुरुष रहेका छन् ।
त्यस्तै माओवादीले कुमाख र छत्रेश्वरी गाउँपालिकामा पनि महिला उम्मेदवारलाइ सिफारिस गरेको छ । कुमाखमा बहालवाला अध्यक्ष दिलमाया बुढामगर र छत्रेश्वरीमा गीताञ्जली भण्डारीको नाम सिफारिस भएको छ । यी पालिकाहरुमा पनि सर्वसम्मत सहमति नहुँदा धेरैको नाम सिफारिस भएको हो । सिफारिस हुने अन्यमा पुरुष छन् ।
माओवादीले उम्मेदवार टुंगो लगाएका सल्यानका ७ पालिकामा भने सबै पुरुषको नाम सिफारिस भएको छ ।
त्यसैगरी नेपाली कांग्रेसले शारदा नगरपालिकाको मेयरका लागि बहालवाला उपमेयर सावित्रा बस्नेतको नाम सिफारिस गरेको छ । यो पालिकामा पनि कांग्रेसभित्र सर्वसम्मत नहुँदा मयेरका लागि बस्नेत सँगै ३ जनाको नाम सिफारिस भएको छ । सिफारिस हुने अन्य २ जना पुरुष हुन् ।
कांग्रेसले बागचौर नगरपालिकामा प्रमिला चन्द र बनगाड कुपिण्डे नगरपालिकामा सुन्दरा शाही र छत्रेश्वरीमा सीता केसीको नाम सिफारिस गरेको छ । यी पालिकामा पनि कांग्रेसभित्र सर्वसम्मत सहमति नहुँदा अन्य पुरुषहरुको नाम पनि सिफारिस भएको छ ।
त्यस्तै नेकपा एमालेबाट पालिका प्रमुखमा १ जना महिलाको नाम सिफारिस भएको छ । बनगाड कुपिण्डे नगरपालिकाको मेयरका लागि आसा ओलीको नाम सिफारिस भएको हो । यहाँ पनि सर्वसम्मत नहुँदा ४ जनाको नाम सिफारिस भएको छ । जसमा ३ जना पुरुष छन् ।
एमालेबाट सिद्धकुमाख गाउँपालिकाको अध्यक्षको उम्मेदवारका लागि बहालवाला उपाध्यक्ष पुष्पा बोहराको नाम चर्चा भएपनि उनि फेरि उपाध्यक्ष लड्ने भएकी छन् ।
‘अध्यक्षमा मेरो दाबी हो ।’, बोहराले भनिन्, ‘तर यहाँ म भन्दा अग्रजले अध्यक्षमा लड्ने भनेपछि उपाध्यक्षमा कोहि नहुँदा फेरि म उपाध्यक्षमा लड्नुपर्ने भयो ।’ उनले आफुले उपाध्यक्षमा हुँदा धेरै अनुभव र काम गरेकोले अध्यक्ष हुने क्षमता भएको बताइन् ।
