सल्यान, १३ चैत्र ।

सल्यानको कपुरकोट गाउँपालिकामा नेकपा एमालेले तीन वटा जनवर्गीय संगठनको पालिका स्तरिय अधिवेशन एक साथ सम्पन्न गरेको छ । शनिवार एमालेको पालिका स्तरीय राष्ट्रिय युवा संघ नेपाल, अखिल नेपाल महिला संघ र मुक्ति समाज गठन गरिएको एमाले कपुरकोटका अध्यक्ष द्रोण केसीले जानकारी दिए ।

अधिवेशनबाट मिलन पिएम अध्यक्ष, चन्द्रमणी खड्का उपाध्यक्ष, गोविन्द चन्द सचिव तथा चुडामणी महतारा र लुद्र बहादुर राना सहसचिव रहेको २९ सदस्यीय युवा संघ कपुरकोट गाउँपालिका कमिटी निर्माण भएको उनले जनाए ।

यस्तै शुक बहादुर विक अध्यक्ष, नोखिराम नेपाली उपाध्यक्ष, मनिराम विक सचिव, मान बहादुर विक कोषाध्यक्ष र चन्द्र प्रकाश विक कोषाध्यक्ष रहेको १९ सदस्यीय मुक्ति समाज गठन भएको एमाले कपुरकोटले जनाएको छ ।

यसैगरी भिमा घर्ती अध्यक्ष, शान्ती आरसी उपाध्यक्ष, टेक कुमारी पुन सचिव र सेतु सार्की सहसचिव रहेको २४ सदस्यीय अखिल नेपाल महिला संघको पालिका स्तरिय कमिटी निर्माण गरिएको छ ।

सो अवसरमा पुर्व जनमुक्ती सेना मिलन राना माओबादी केन्द्र परित्याग गरि एमालेमा प्रवेश गरेका छन । जनमुक्ति सेनाका योद्धाहरूको माग, गुनासा र अप्ठ्यारा सम्बोधन गर्न माओवादीले नसकेको र दिनप्रतिदिन माओवादी जनताको नजरबाट गिर्दै गएकाले आफु एमालेमा प्रवेश गरेको उनले जनाएका छन् ।

अधिवेशन तथा पार्टी प्रशिक्षण कार्यक्रममा एमाले सल्यानका उपाध्यक्ष भिम बहादुर सेनले एमालेसंग एक्लै लड्न सक्ने शक्ति कसैसंग नभएको बताउँदै देशभर छाएको एमालेप्रतिको लहरले विरोधीहरु अत्तालिएको जनाए । उनले आफू बसेकै ठाउँबाट पार्टी काममा लाग्न, प्रचार गर्न, संगठित गर्न र आम नागरिकमा एमालेका विरुद्ध केन्द्रित दलका भ्रम चिर्न आह्वान गरे ।

जिल्ला कमिटी सचिवालय सदस्य तथा मुक्ती समाज सल्यानका इन्चार्ज जनक विक, जिल्ला कमिटी सचिवालय सदस्य ओम बहादुर बुढा, जिल्ला कमिटी सदस्यहरु मधुसूदन गिरि, भिमा बुढाथोकी, लेखा आयोग तथा मुक्ती समाज सल्यानका संयोजक टिकाराम बिक, युवा संघ सल्यानका इन्चार्ज प्रीन्स बस्नेत, युवा संघका जिल्ला अध्यक्ष रुपक बुढा, बुद्धिजीवी परिषद् सल्यानका संयोजक पदम खड्का लगायतले मन्तव्य राख्दै एमालेको नेतृत्वमा धेरै जनप्रीय र विकास निर्माणका काम भएको भन्दै आम नागरिकमाझ पार्टी पुग्नुपर्ने बताएका थिए ।

एमाले कपुरकोट गाउँपालिका कमिटी उपाध्यक्ष ललिता गिरिको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन सचिव मित्रलाल कठायतले गरेका थिए ।