सल्यानबाट प्रकाशन हुने एक मात्र खवरपत्रिका कुमाख दैंनिकमा समसामयिक तथा समाजमा लुकेर रहेका वा ओझेलमा परेका विभिन्न विषयवस्तुहरुमा सम्बन्धित क्षेत्रका अनुभवि, विज्ञ र सरोकार राख्ने व्यक्तित्वहरुका विचार, अनुभव र ज्ञानलाई उजागर गर्न र सभ्य तथा समुन्नत समाज निर्माणको लागि आ–आफ्‌नो तर्फबाट के कस्तो थप पहल गर्न आवश्यक छ भन्ने जस्ता कुराहरुलाई समेटेर प्रत्येक सातामा २ देखि ३ जनाव्यक्तित्वसंग अन्तरवार्ता प्रकाशन गर्ने उदेश्यले यो कार्य प्रारम्भ गरिएको छ । यस अन्तरवार्तालाई अनलाईन खवर, फेसबुकपेज, भिडियो लगायत अन्य माध्यमबाट पनिप्रकाशन गर्न सकिनेछ । सोहि सन्दर्भमा आज हामीले राष्ट्रिय जनमोर्चा सल्यानका अध्यक्ष ढकनप्रसाद शर्मासँग पछिल्लो राजनीतिर समसामयिक बिषयमा कुरा गरेका छौं ।
कार्यक्रममा यहाँलाई स्वागत छ ।
धन्यवाद, स्वागत गर्नुभएकोमा ।
राष्ट्रिय जनमोर्चाले पछिल्लो समयमा पार्टीको अवस्था र राजनीतिकविषयवस्तुलाई कसरी अगाडि बढाइरहेको छ ? यसबारे केही बताइदिनुहोस्‌  ।
राष्ट्रिय जनमोर्चाले अहिले पनि उठाउँदै आएका राजनीतिक मुद्दाहरू ऐतिहासिक रूपमाप्रभावकारी, जनपक्षीय र राष्ट्रियता तथा जनजीविकाको पक्षमा रहेका छन्‌ । यी विषय नेपाली जनताका बीचमा स्थापित भइसकेका छन्‌ । पछिल्लो समयमा नयाँ र पुरानोको भाष्य खडा गरेर नेपालको राष्ट्रिय राजनीति र राष्ट्रिय अस्मिता माथि विभिन्न प्रकारका प्रश्न उठाउने काम भइरहेको छ । विद्रोह र परिवर्तनका नाममा आएका कतिपय शक्तिहरू विदेशी शक्तिकेन्द्रबाट प्रभावित भएर नेपाली जनताको राजनीतिक चेतनामाथि भ्रम फैलाउँदै अगाडि बढेका छन् भन्ने हाम्रो पार्टीको विश्लेषण छ । वैधानिक राजनीतिक धरातलर स्पष्ट वैचारिक आधार बिना जनताको मुक्ति सम्भव हुन्छ भन्ने कुरामा राष्ट्रिय जनमोर्चा विश्वास गर्दैन । त्यसैले हामीले उठाउँदै आएका राजनीतिक मुद्दा, राष्ट्रियता, जनजीविका र जनताको मुक्तिका सवाललाई निरन्तर अगाडि बढाइरहेका छौँ ।
राष्ट्रिय जनमोर्चाको मुख्य एजेन्डा के हो ? पार्टीलाई कुन आधारमा चिन्ने ? यसबारे आमनागरिकले बुझ्ने गरी स्पष्ट पारिदिनुहोस्‌ । अहिले देश धर्मनिरपेक्ष, सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा छ । प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्रीको बहस पनि चलिरहेको छ । यस्तो अवस्थामा राष्ट्रिय जनमोर्चालाई कुन आधारमा चिन्ने ?
राष्ट्रिय जनमोर्चालाई चिन्ने मुख्यआधार यसको राजनीतिक विचार, सिद्धान्त र जनताप्रतिको प्रतिबद्धता हो । हाम्रो पार्टीले गरिखाने वर्गको मुक्ति, श्रमजीवी जनताको अधिकार र समाजवादी राज्यव्यवस्थाको स्थापनाका लागि निरन्तर सङ्घर्ष गर्दै आएको छ । हामीले वर्गसङ्घर्षको ऐतिहासिक यात्रालाई महत्व दिएका छौँ । क्रान्तिको नाममा आउने अतिवाद र राजनीतिक परिवर्तनका नाममा जनतालाई भ्रमित गर्ने प्रवृत्तिका विरुद्ध पनि हाम्रो पार्टीले सङ्घर्ष गरेको इतिहास छ । राष्ट्रिय जनमोर्चाले देशको राजनीतिक परिस्थिति, जनताको चेतनार समग्र अवस्थाको विश्लेषण गरेर आफ्नो राजनीतिक नीति निर्धारण गर्छ । हामीले निनवादी सङ्गठनात्मक पद्धतिका आधारमा पार्टी सञ्चालन गर्दै आएका छौँ । वर्तमान पुँजीवादी व्यवस्था अन्तर्गत हुने निर्वाचनलाई हामीले जनताका बीचमा आफ्ना राजनीतिक विचार र एजेन्डा पुर्‍याउने माध्यमका रूपमा लिएका छौँ । राष्ट्रिय जनमोर्चाले नेपाल कम्युनिस्ट पार्टी मसालको राजनीतिक तथा वैचारिक लक्ष्यलाई अगाडि बढाउन कानुनी राजनीतिक मोर्चाका रूपमा काम गरिरहेको छ । हाम्रो उद्देश्य आधारभूत रूपमा जनताको मुक्तिर समाजवादी व्यवस्था स्थापना गर्नु हो । त्यसैले राष्ट्रिय जनमोर्चालाई बुझ्न यसको चुनावी उपस्थितिलाई मात्र होइन, यसले उठाउँदै आएका राजनीतिक मुद्दा र वैचारिक प्रतिबद्धतालाई पनि हेर्नुपर्छ ।
देशमा शान्ति प्रक्रिया सुरु भएयता धेरै पटक निर्वाचन भएका छन्‌ । राष्ट्रिय जनमोर्चाले जनपक्षीय मुद्दा उठाउँदै आएपनि राष्ट्रिय राजनीतिमा यसको उपस्थिति सीमित देखिन्छ । जनताका मुद्दा उठाउँदा पनि पार्टी राष्ट्रिय रूपमा ठूलो बन्न नसक्नुको कारण के हो ?
विश्वभर पुँजीवादी व्यवस्था अन्तर्गत हुने निर्वाचनको आफ्नै चरित्र हुन्छ । त्यसमा जनताको राजनीतिक चेतना, सङ्गठनात्मक आधार र राजनीतिक दलहरूले जनतालाई प्रभाव पार्ने क्षमताले महत्व राख्छ । हामीले उठाउँदै आएका राजनीतिक मुद्दा र विचारलाई आमजनताका बीचमा स्थापित गर्न अझै धेरै काम गर्नुपर्ने अवस्था छ । जनतालाई सङ्गठित गर्ने, राजनीतिक रूपमा सचेत बनाउने र हाम्रो उद्देश्य बुझाउने काममा विभिन्न चुनौती छन् ।
अर्कोतर्फ, अहिलेको राज्य व्यवस्थाका मूल्य र मान्यता भन्दा फरक राजनीतिक दृष्टिकोण जनताका बीचमा स्थापित गर्न हामीले निरन्तर प्रयत्न गरिरहेका छौँ । परिस्थिति बदलिँदै जाँदाहामीले उठाएका मुद्दा पनिनयाँ सन्दर्भमा अगाडि आएका छन् । नयाँ र पुरानोको कुरा गर्दा नयाँ मानिस वा नयाँ राजनीतिक दलको नाम आउनु मात्रै परिवर्तन होइन । समाजलाई सुन्दर र समुन्नत दिशातर्फ लैजाने विचार र व्यवहार नै वास्तविक नयाँपन हो । पात्र फेरिएर वा पार्टीको नाम फेरिएर मात्रै नयाँ हुँदैन । हामी नयाँ जनवादीक्रान्तिको आधार तयार पार्ने उद्देश्यले निर्वाचनलाई एउटा राजनीतिक पुलका रूपमा प्रयोग गरिरहेका छौँ । जनताले हामीलाई अपेक्षा अनुसार मत नदिनु एउटा वास्तविकता हो, तर त्यसकै आधारमा हाम्रो राजनीतिक विचार र उद्देश्य गलत छन् भन्न मिल्दैन । नेपालमा औद्योगिक विकासको अवस्था, श्रमिकवर्गको सङ्गठनात्मक स्थिति र जनताको राजनीतिक चेतनासँग पनि हाम्रो राजनीतिक प्रभाव जोडिएको छ । अहिले सङ्ख्यात्मक रूपमा सानो देखिए पनि राजनीतिक मूल्य, मान्यता र मुद्दाका आधारमा राष्ट्रिय जनमोर्चा बलियो छ भन्ने हाम्रो विश्वास छ । आजकतिपय राजनीतिक शक्तिले तत्काल सत्ता र शक्तिमा पुग्नुलाई ठूलो उपलब्धि ठान्छन् । तर हामीले जनताको आधारभूत समस्या उठाउने, राजनीतिक चेतना विकास गर्ने र समाजवादी समाज निर्माणको लक्ष्यलाई महत्व दिएका छौँ ।
पछिल्लो आन्दोलन पछि नयाँ राजनीतिक शक्तिहरूको उदय भएको छ । यसले राष्ट्रिय जनमोर्चा लगायत पुराना राजनीतिकदललाई चुनौती दिएको देखिन्छ । यस्तो अवस्थामा राष्ट्रिय जनमोर्चा फेरि उठ्न सम्भव छ ? नयाँ राजनीतिक शक्तिलाई जनताले विश्वास गरिरहेका बेला पुराना दलप्रति जनताको विश्वास फर्किन सक्छ ?
नयाँ र पुरानोको विषयमा मैले अगाडि पनि स्पष्ट पारिसकेको छु । कुनै राजनीतिक शक्ति नयाँ हो कि पुरानो भन्ने कुरा उसको नाम वा नेतृत्वमा रहेका पात्रका आधारमा मात्र निर्धारण हुँदैन । उसको विचार, उद्देश्य र राजनीतिक व्यवहारका आधारमा मूल्याङ्कन गर्नुपर्छ ।
राज्य सञ्चालनका निश्चित नीति, पद्धति, प्रक्रिया र विधि हुन्छन् । निर्वाचन मार्फत जनताले राजनीतिक दललाई समर्थन गर्छन् र आवश्यक पर्दा आफ्नो समर्थन फिर्ता पनि लिन्छन् । लामो इतिहास बोकेका राजनीतिक दलहरूमा पनि सत्ता र शक्तिको मोह बढेको छ । सत्ता प्राप्त गर्न जे पनिगर्ने र पद तथा प्रतिष्ठालाई सबैभन्दा ठूलो उपलब्धि ठान्ने प्रवृत्तिका कारण जनतामा निराशा पैदा भएको छ । यही निराशाका कारण जनमत अन्यत्र गएको हुन सक्छ । नेपाली कांग्रेस जस्ता लामो राजनीतिक इतिहास भएका दलहरूको वर्तमान अवस्थालाई पनि यही सन्दर्भमा हेर्न सकिन्छ । विभिन्न शक्तिकेन्द्रबाट नेपाली राजनीति प्रभावित हुने र तिनको समर्थनमा सत्ताप्राप्त गर्ने प्रवृत्ति अन्त्य नभएसम्म राजनीतिक अस्थिरता कायम रहन सक्छ । जनतालाई राजनीतिक रूपमा सचेत र सजग नबनाएसम्म यो प्रक्रिया दोहोरि रहन्छ । त्यसैले नयाँ राजनीतिक शक्तिको उदयलाई मात्र परिवर्तनको प्रमाण मान्नु पर्याप्त हुँदैन । ती शक्तिको वास्तविक उद्देश्य र व्यवहारको परीक्षण हुन आवश्यक छ ।
अहिले नयाँ राजनीतिक दलहरू सामाजिक सञ्जाल मार्फत जनताका बीचमा पुगिरहेका छन् । उनीहरूले जनताको मन जितेको देखिन्छ । तर राष्ट्रिय जनमोर्चा जस्ता पुराना तथा सानादलहरू ओझेलमा परिरहेका छन् । यस्तो अवस्थामा जनताको बीचमा पुगेर आफ्नो प्रभाव कायम राख्न तपाईंहरूलाई कठिन भएको छैन ?
जनताको मन जित्ने मुख्य आधार राजनीतिक एजेन्डा, मुद्दा, उद्देश्य र लक्ष्य हो । राजनीतिक दलले कुन विचारका आधारमा जनतासँग संवाद गर्छ र जनताको समस्या समाधानका लागि कस्तो नीति लिन्छ भन्ने कुरा महत्वपूर्ण हुन्छ । कुनै दलले नयाँपनको नाममा सत्ता र शक्ति प्राप्त गरे पनि त्यसको वास्तविक उद्देश्य र राजनीतिक धरातल समयक्रममा स्पष्ट हुँदै जान्छ । इतिहासले पनि यस्ता विषयको मूल्याङ्कन गर्छ । हामीले आफ्नो राजनीतिक यात्रालाई ऐतिहासिक कालखण्डसँग जोडेर हेर्ने गरेका छौँ । जनताका बीचमा हाम्रो सङ्गठन कमजोर छ कि छैन, हाम्रो विचार कतिप्रभावकारी छ र जनताले हाम्रो मुद्दालाई कसरी बुझिरहेका छन् भन्ने विषयमा हामीले निरन्तर समीक्षा गर्छौँ ।
हामी जनताका बीचमा जाँदा राजनीतिक रूपमा कमजोर भएको महसुस गर्दैनौँ । यद्यपि, हाम्रो पार्टीमा पनि कमजोरी हुन सक्छन् । ती कमजोरीलाई सुधार्दै जनतालाई अझ बढी सचेत र सङ्गठित बनाउन आवश्यक छ । विगतमा क्रान्तिको नाममा भ्रम फैलाउने र क्रान्तिकारी कुरा गर्ने तर व्यवहारमा त्यस अनुसार काम नगर्ने प्रवृत्तिले पनि जनतामा अन्योल पैदा गरेको छ । त्यसको असर राष्ट्रिय जनमोर्चा लगायत अन्य राजनीतिक शक्ति माथि पनि परेको हुन सक्छ । तर राष्ट्रिय जनमोर्चा आफ्नो छुट्टै राजनीतिक इतिहास, विचार र कार्यदिशाका आधारमा अगाडि बढेको पार्टी हो । हामी जनताका मुद्दा उठाउँछौँ र राज्यसत्तामा जोसुकै पुगे पनि गलत कामका विरुद्ध आवाज उठाउँछौँ । हाम्रा नेता चित्रबहादुर केसीले पनि भ्रष्टाचार र राज्यसत्ताका गलत प्रवृत्ति विरुद्ध निरन्तर आवाज उठाउँदै आउनु भएको छ । विगतमा पनि उहाँ र राष्ट्रिय जनमोर्चाले जनताका मुद्दा उठाएका थिए । आगामी दिनमा पनि हामी यही राजनीतिक जिम्मेवारी पूरा गर्नेछौँ । राजनीतिमा कुनै दल सधैँ ठूलो रहन्छ भन्ने हुँदैन । समय र परिस्थिति अनुसार राजनीतिक शक्ति बदलिन्छन् । नेपाली कांग्रेस, नेकपा एमाले र माओवादीको राजनीतिक उतारचढावलाई हेर्दा पनि यो कुरा बुझ्न सकिन्छ । हामी मार्क्सवादी सिद्धान्तका आधारमा समाजको विश्लेषण गर्छौँ । समाजलाई प्रगतितर्फ लैजाने र समाजवादी व्यवस्था स्थापना गर्ने लक्ष्यबाट हामी विचलित भएका छैनौँ । सङ्ख्यात्मक रूपमा कमजोर देखिए पनि वैचारिक रूपमा कमजोर हुनुपर्छ भन्ने छैन ।
मार्क्सवादी दृष्टिकोण र समाजवादी विचार जनताका बीचमा स्थापित गर्न धेरै चुनौती छन्‌ । ती चुनौतीलाई सामना गर्दै राष्ट्रिय जनमोर्चाले कस्तो नेपाल निर्माण गर्न चाहन्छ ? देशको राजनीतिक व्यवस्था कस्तो हुनुपर्छ भन्ने तपाईंहरूको दृष्टिकोण स्पष्ट पारिदिनुहोस्‌ ।
राष्ट्रिय जनमोर्चाले चाहेको नेपाल जनताको अधिकार सुनिश्चित भएको, राष्ट्रियता बलियो भएको र श्रमजीवी वर्गको हित संरक्षण हुने देश हो । हामी समाजवादी राज्यव्यवस्था स्थापना गर्न चाहन्छौँ । नेपालको वर्तमान संविधान र राजनीतिक व्यवस्थाका केही विषयमा हाम्रो असहमतिछ । विशेषगरी सङ्घीय प्रणाली नेपालको भौगोलिक अवस्था, आर्थिक क्षमता र राष्ट्रिय आवश्यकताका दृष्टिले उपयुक्त छैन भन्ने हाम्रो धारणा छ । हामीले नेपाल जस्तो सानो र भौगोलिक रूपमा विशिष्ट देशमा सङ्घीय संरचनाले नयाँ प्रकारका समस्या तथा द्वन्द्व जन्माउन सक्ने चेतावनी दिँदै आएका छौँ । अहिले सङ्घीय प्रणाली कार्यान्वयनमा देखिएका कठिनाइले हाम्रो आशङ्कालाई थप बल दिएको छ भन्ने हाम्रो विश्लेषण छ । राष्ट्रिय जनमोर्चाले सङ्घीय प्रणाली खारेज गरी प्रजातान्त्रिक विकेन्द्रीकरणमा आधारित स्थानीय स्वायत्त शासनको व्यवस्था गर्नुपर्ने माग गर्दै आएको छ । स्थानीय तहलाई आवश्यक अधिकार र जिम्मेवारी दिनुपर्छ । जनतालाई अधिकार प्राप्त गर्नका लागि अनावश्यक प्रशासनिक संरचनाको बोझ बोकाउनु हुँदैन । हाम्रो दृष्टिकोणमा राज्यको संरचना ठूलो हुनु नै जनताको अधिकार सुनिश्चित हुनु होइन । जनतालाई आफ्नो आवश्यकता पूरा गर्न सक्ने अधिकार, स्रोत र निर्णय गर्ने क्षमता दिनु महत्वपूर्ण हो । यदि स्थानीयतहलाई पर्याप्त अधिकार दिएर शासन सञ्चालन गर्न सकिन्छ भने प्रदेश संरचनाको आवश्यकता हुँदैन भन्ने हाम्रो मान्यता छ । स्थानीयतहलाई अधिकार सम्पन्न बनाउँदै प्रशासनिक तथा आर्थिक विकेन्द्रीकरण गर्नुपर्छ । हामी राष्ट्रिय एकता, सामाजिक सद्भाव र जनताको अधिकारको संरक्षण गर्दै समाजवादी समाजनिर्माण गर्न चाहन्छौँ ।
अहिले विभिन्न राजनीतिक दलहरू आगामी निर्वाचनका लागि गठबन्धनको तयारीमा छन् । राष्ट्रिय जनमोर्चाले पनि निर्वाचनमा भाग लिँदै आएको छ । तपाईंहरू कुन दलसँग गठबन्धन गरेर निर्वाचनमा जानुहुन्छ कि एक्लै प्रतिस्पर्धा गर्ने योजना छ ?
गणतान्त्रिक मूल्य र मान्यताका आधारमा प्राप्त उपलब्धिको रक्षा गर्नु अहिलेको महत्वपूर्ण विषय हो । विगतमा गणतन्त्रका लागि सङ्घर्ष गरेका राजनीतिक दलहरूमा पनि कैयौँ कमजोरी छन् । ती कमजोरी विरुद्ध हामीले आवाज उठाउँदै आएका छौँ र आगामी दिनमा पनि उठाउने छौँ । तर नयाँ र पुरानोको भाष्य खडा गरेर आएका सबै राजनीतिक शक्तिलाई एउटै दृष्टिले हेर्न मिल्दैन । लामो राजनीतिक इतिहास भएका दलहरूमा कमजोरी भए पनि उनीहरूले ती कमजोरी सुधार्नु पर्छ । राजनीतिक मूल्य र मान्यताका आधारमा उनीहरूको मूल्याङ्कन गर्नु पर्छ । निर्वाचनमा गठबन्धन गर्ने विषय विचार र राजनीतिक उद्देश्यसँग जोडिएको हुन्छ । विचार मिल्ने शक्ति बीच सहकार्य हुन सक्छ । त्यसका लागि आपसी समीक्षा, सहमति र स्पष्ट राजनीतिक आधार आवश्यक हुन्छ । नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको प्रणाली उपयुक्त हुँदैन भन्ने हाम्रो धारणा छ । प्रत्यक्षकार्यकारी प्रणालीमा राज्यको शक्ति एउटै व्यक्तिमा केन्द्रित हुने जोखिम रहन्छ । संसद्ले सरकारको काम माथि निगरानी राख्ने र आवश्यक पर्दा नियन्त्रण गर्ने व्यवस्था लोकतान्त्रिक प्रणालीमा महत्वपूर्ण हुन्छ । हामी संसदीय प्रणालीलाई उपयुक्त मान्छौँ । देशको राजनीतिक संरचना कमजोर बनाउने वा राज्यको शक्ति अत्यधिक केन्द्रित गर्ने व्यवस्थाका पक्षमा हामी छैनौँ । गणतान्त्रिक संरचनाको रक्षागर्दै राजनीतिक सहमति र कार्यगत एकताका आधारमा अगाडि बढ्ने सम्भावना रहन्छ । तर त्यस्तो सहकार्यका लागि राजनीतिक विचार, उद्देश्य र कार्यदिशामा स्पष्टता हुनुपर्छ ।
नयाँ राजनीतिक शक्तिहरूको उदयले पुराना दललाई चुनौती दिएको छ । नयाँ दल र विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टी जस्ताशक्तिलाई तपाईंहरूले कसरी हेर्नुभएको छ ?
हामीले नयाँ र पुरानोको विषयलाई नामका आधारमा मात्र हेरेका छैनौँ । कुनै पनि राजनीतिक शक्तिको वास्तविक उद्देश्य, विचार र त्यसले लिएको राजनीतिक दिशालाई हेर्नुपर्छ । राष्ट्रिय जनमोर्चाको विश्लेषणमा अहिले नयाँ भनेर अगाडि आएका कतिपय राजनीतिक शक्तिहरू विदेशी शक्ति केन्द्रबाट प्रभावित छन् । विशेषगरी अमेरिकी साम्राज्यवादको प्रभावमा रहेर नेपालको राष्ट्रिय राजनीतिमा प्रवेश गरेका शक्तिले देशलाई सही दिशा दिन सक्छन् भन्ने कुरामा हाम्रो पार्टी विश्वस्त छैन । विश्व राजनीतिमा साम्राज्यवादी शक्तिहरूले विभिन्न देशमा आफ्नो प्रभाव विस्तार गर्नेप्रयास गरिरहेका छन् । त्यस्ता शक्तिको प्रभावमा परेका राजनीतिक दललाई नयाँ भन्दैमा उनीहरूको विचार र उद्देश्य सही हुन्छ भन्ने छैन । डोनाल्ड ट्रम्पको नेतृत्वमा देखिने अमेरिकी नीतिहरू र विश्व राजनीतिमा अमेरिकाको भूमिकालाई पनि यही सन्दर्भमा हेर्नुपर्छ भन्ने हाम्रो धारणा हो । नेपालको राष्ट्रिय राजनीति नेपाली जनताको हित, राष्ट्रिय स्वाधीनता र जनताको अधिकारका आधारमा अगाडि बढ्नुपर्छ । विदेशी शक्तिबाट प्रभावित भएर आएका राजनीतिक शक्तिले देशको हितमा काम गर्न सक्छन् भन्ने कुरामा हाम्रो पार्टी प्रस्ट छैन । त्यसैले नयाँपनको नाममा आएका राजनीतिक शक्तिको वास्तविक राजनीतिक धरातल बुझ्न आवश्यक छ । राष्ट्रिय जनमोर्चा आफ्नो वैचारिक दृष्टिकोणका आधारमा यस्ता विषयको विश्लेषण गर्दैआएको छ ।
तपाईंको पार्टीको स्थानीय सङ्गठनात्मक अवस्था कस्तो छ? छोटकरीमा बताइ दिनुहोस्‌न ।
राष्ट्रिय जनमोर्चा जहाँ जति सङ्गठनात्मक रूपमा उपस्थित छ, त्यहाँ आफ्नो राजनीतिक कार्यदिशा र सिद्धान्तमा स्पष्ट छ । हाम्रो पार्टी अनुशासित सङ्गठनका रूपमा अगाडि बढिरहेको छ । सङ्गठनमा कति सदस्य छन् भन्ने सङ्ख्याले मात्रै राजनीतिक शक्तिको मूल्याङ्कन हुँदैन । पार्टीले लिएको राजनीतिक कार्यदिशा सही छ कि छैन, त्यसले जनताको समस्या सम्बोधन गर्छ कि गर्दैन र समय अनुसार आफ्नो विचारलाई स्थापित गर्न सक्छ कि सक्दैन भन्ने कुरा महत्वपूर्ण हुन्छ । जनताका बीचमा रहेका भ्रमलाई चिर्ने काम हामीले हिजो पनि गरेका थियौँ, आज पनि गरिरहेका छौँ र भोलि पनि गर्नेछौँ । समाजमा विभिन्न वर्ग, समुदाय, संस्कार र संस्कृतिका मानिस छन् । त्यस्तो समाजमा कम्युनिस्ट तथा समाजवादी मूल्य र मान्यता स्थापित गर्नु सजिलो काम होइन । तर हामीले लिएको उद्देश्य समाजलाई सुन्दर र न्यायपूर्ण बनाउने हो । त्यसैले राष्ट्रिय जनमोर्चा आफ्नो राजनीतिक कार्यदिशामा स्पष्ट छ । सङ्गठनात्मक चुनौती भएपनि हामीले आफ्नो राजनीतिक जिम्मेवारीबाट पछि हटेका छैनौँ ।
अन्तिममा नयाँ पुस्ता र नयाँ मतदातालाई राष्ट्रिय जनमोर्चामा आबद्ध हुनका लागि तपाईंको मुख्य अपिल के छ ? युवाहरूलाई के भन्न चाहनुहुन्छ ?
नयाँ पुस्तामा नयाँ जोस,जाँगर र केही परिवर्तन गर्ने चाहनाहुनु स्वाभाविक हो । तर नयाँ कुरा खोज्ने नाममा गलत बाटोमा लागेर सही गन्तव्यमा पुग्न सकिँदैन । न्यायको बाटो छोडेर अन्यायको बाटोबाट न्याय खोज्नुको अर्थ हुँदैन । त्यसैले नयाँ पुस्ताले आफ्नो राजनीतिक बाटो निश्चित गर्नुपर्छ र राजनीतिलाई सही रूपमा बुझ्नुपर्छ । अहिले राजनीतिप्रति निराशा बढ्नुको एउटा प्रमुख कारण विगतका राजनीतिक दलमा देखिएको सत्ता र शक्तिप्रतिको मोह हो । पद र प्रतिष्ठाका लागि राजनीतिक प्रतिस्पर्धा गर्ने तथा सत्तामा पुग्न जे पनि गर्ने प्रवृत्ति गलत हो । राष्ट्रिय जनमोर्चाले यस्ता प्रवृत्ति विरुद्ध हिजो पनि आवाज उठाएको थियो, आज पनि उठाइरहेको छ र भोलिपनि उठाउने छ । अन्यायका विरुद्ध न्यायको आवाज उठाउने राजनीतिक लाइन हाम्रो पार्टीसँग छ भन्ने हाम्रो दाबी हो । युवा पुस्ताले मानव जातिको सुन्दर भविष्य निर्माण गर्ने दर्शन, राजनीतिक विचार र सिद्धान्तबारे अध्ययन गर्नुपर्छ । समाजलाई न्यायपूर्ण र समानतामूलक दिशा तर्फ लैजानकुन राजनीतिक विचारले मार्गदर्शन गर्न सक्छ भन्ने विषयमा गम्भीर हुनुपर्छ । हामी नयाँ पुस्तालाई समाजवादी तथा साम्यवादी विचारका आधारमा राजनीतिक रूपमा सचेत र सङ्गठित हुन आह्वान गर्छौँ । कसैलाई जबर्जस्ती पार्टीमा आबद्ध गराउने हाम्रो उद्देश्य होइन । युवामा सही राजनीतिक विचार बुझ्ने इच्छा र चेतना विकास हुनुपर्छ । त्यसपछि हामी उनीहरूलाई राजनीतिक मार्गदर्शन गर्न तयार छौँ । राष्ट्रिय जनमोर्चासँग समाज परिवर्तनको दर्शन, राजनीति, विचार र सिद्धान्त छ । त्यसैले आमयुवा पुस्ता र नयाँमतदातालाई यी विषयको अध्ययन गरेर सही राजनीतिक दिशामा अगाडि बढ्न तथा राष्ट्रिय जनमोर्चासँग जोडिन अपिल गर्दछु ।
आफ्नो व्यस्त समयका बाबजुद हामीलाई समय दिनुभएकोमा धेरै धन्यवाद ।
धन्यवाद।