काठमाडौँ, असोज ८ गते । डोल्पाको जुफाल विमानस्थलमा अवतरणका क्रममा सीता एयरको जहाज दुर्घटनामा परेको छ। नेपालगन्जबाट उडेको सीता एयरको ९एन–एजे जहाज बिहीबार बिहान ८ः२५ बजे विमानस्थलको धावनमार्गमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रवक्ता प्रहरी निरीक्षक पदम रावलका अनुसार जहाजमा १३ जना यात्रु र तीन जना चालक दलका सदस्य रहेका थिए। जसमध्ये सात जना विदेशी नागरिक रहेको उहाँले बताउनुभयो।

जहाज अवतरणका क्रममा दुर्घटनामा परेपछि पछाडिपट्टिको दायाँ चक्का बाहिर निस्किएको छ। पाइलटले तत्काल इन्जिन बन्द गरेपछि आगलागी हुनबाट जहाज जोगिएको छ। दुर्घटनाका कारण जहाज अहिले पनि धावनमार्गमै रहेको छ।

घटनामा कुनै मानवीय क्षति भएको छैन। जुफाल विमानस्थलमा नेपाल वायुसेवा निगमले साताको दुई दिन नियमित उडान गर्दै आएको छ भने सीता, तारा लगायतका निजी वायुसेवा कम्पनीले यात्रु उपलब्धताका आधारमा उडान गर्दै आएका छन्। दुर्घटनाका कारण जहाज अहिले पनि धावनमार्गमै रहेको छ ।