सल्यान जेष्ठ १४, ।
सल्यानमा वेवारिसे अवस्थामा राखिएको अबैध ३ नाल भरुवा बन्दुक फेला परेको छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका–१२ चौरस्थित सिद्धगुफा सामुदायिक वन क्षेत्रमा अबैध भरुवा बन्दुक रहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले खोजतलास गर्दा बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । बुधबार प्रहरी चौकी वनगाड सल्यानबाट खटिएको प्रहरी टोलीले उक्त क्षेत्रमा विशेष खोजतलास तथा निगरानी गरेको थियो । खोजीका क्रममा सामुदायिक वनभित्र वेवारिसे अवस्थामा लुकाइराखिएको भरुवा बन्दुकका ३ वटा नाल सावुत अवस्थामा फेला परेको प्रहरी प्रमुख डिएसपी दिपक पातलीले जानकारी दिनुभयो । उहाँका अनुसार फेला परेका भरुवा बन्दुकका नालहरू प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरजेको छ ।
पछिल्लो समय ग्रामीण तथा वन क्षेत्रहरूमा लुकाइराखिएका घरेलु तथा अवैध हतियार फेला पर्ने घटनाले सुरक्षा चुनौती थपिएको भन्दै प्रहरीले यस्ता गतिविधिबारे सूचना दिन सर्वसाधारणलाई आग्रह समेत गरेको छ । प्रहरीले अवैध हातहतियार नियन्त्रण तथा शान्ति सुरक्षालाई प्रभावकारी बनाउन जिल्लाभर निगरानी बढाइएको जनाएको छ ।