चैत १०, सल्यान । विश्व क्षयरोग दिवसको अवसरमा त्रिवेणी गाउँपालिकाको आयोजना तथा ग्लोबल फोन्ड र UNDP को आर्थिक सहयोगमा तथा बिराट नेपाल मेडिकल ट्रष्ट (BNMT NEPAL)  को सहकार्यमा “हो हामी क्षयरोगको अन्त्य गर्छौं राष्ट्रिय अभियान, हाम्रो योगदान” भन्ने नारासहित काभ्रा स्वास्थ्य चौकीमा AI डिजिटल एक्स–रे विधिबाट सक्रिय क्षयरोग खोजपड्ताल (स्क्रिनिङ) शिविर सम्पन्न भएको छ ।

शिविरमा सहभागि रहेका डाक्टर सवन मोरबैताले डिजिटल एक्स–रे प्रविधिको महत्वबारे विस्तृत जानकारी दिँदै भने, “अहिलेको समयमा AI आधारित डिजिटल एक्स–रे प्रविधि क्षयरोग पहिचानका लागि निकै प्रभावकारी माध्यम बनेको छ । यसले फोक्सोको तस्वीरमा देखिने साना–साना परिवर्तनहरू, दाग, छायाँ वा अन्य असामान्य अवस्थालाई छिटो पहिचान गर्न सक्छ, जुन सामान्य आँखाले कहिलेकाहीँ तुरुन्तै छुट्न सक्छ । यस प्रविधिको मुख्य उद्देश्य धेरै मानिसलाई छोटो समयमा, कम लागतमा र प्रभावकारी रूपमा स्क्रिनिङ गर्नु हो । विशेषगरी ग्रामीण तथा दुर्गम क्षेत्रमा जहाँ विशेषज्ञ सेवा सहज रूपमा उपलब्ध हुँदैन, त्यहाँ यस्तो प्रविधिले ठूलो सहयोग पुर्याउँछ । तर, हामीले बुझ्नुपर्ने कुरा के हो भने डिजिटल एक्स–रे ले केवल सम्भावना देखाउने हो, अन्तिम रूपमा क्षयरोग पुष्टि गर्न भने खकार परीक्षण जस्ता अन्य प्रयोगशाला परीक्षण अनिवार्य हुन्छन् । त्यसैले हामीले सम्भावित बिरामीहरूको खकार संकलन गरी थप परीक्षणका लागि जिल्ला अस्पताल सल्यान पठाएका छौं, जसले सही पहिचान र समयमै उपचार सुनिश्चित गर्न मद्दत गर्ने बताए ।”

त्यसैगरी शिविरमा सहभागि रहेका डिस्ट्रिक प्रोगराम कोडिनेटर भरत चन्द ठकुरीले (BNMT NEPAL) संस्थाको भूमिकाबारे विस्तृत जानकारी दिँदै भने, “हामीले विगत ८ महिनादेखि सल्यान जिल्लामा क्षयरोग निवारण तथा नियन्त्रणका लागि निरन्तर काम गर्दै आएका छौं । हाम्रो मुख्य लक्ष्य समुदायस्तरमै पुगेर लुकेर रहेका बिरामीहरू पहिचान गर्नु, उनीहरूलाई समयमै परीक्षण र उपचारको पहुँचमा ल्याउनु र क्षयरोगबारे जनचेतना अभिवृद्धि गर्नु हो । सल्यान जिल्लाका १० वटै स्थानीय तहमा कार्यक्रम सञ्चालन भइरहेको छ । विशेषगरी शारदा नगरपालिका, त्रिवेणी गाउँपालिका, छत्रेश्वरी गाउँपालिका र कपुरकोट गाउँपालिकामा क्षयरोगका बिरामीको संख्या तुलनात्मक रूपमा बढी देखिएकाले यी क्षेत्रमा हामीले थप केन्द्रित भएर काम गरिरहेका छौं । यसका साथै, बिरामीहरूको नियमित उपचार सुनिश्चित गर्न, औषधि सेवनमा निरन्तरता कायम गराउन र समुदायमा हुने संक्रमणको जोखिम घटाउन पनि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छौं । यस्ता शिविरहरूले समुदायमै गएर सेवा दिनुका साथै जनचेतना फैलाउन पनि महत्वपूर्ण भूमिका खेल्ने उहाँले जानकारी बताए ।”

शिविरमा कुल २०० जनाको डिजिटल एक्स–रे परीक्षण गरिएको थियो, परीक्षणका क्रममा ४५ जनामा क्षयरोगको सम्भावना देखिएको र उनीहरूको खकार संकलन गरी थप परीक्षणका लागि जिल्ला अस्पताल सल्यान पठाइएको आयोजकले जनाएको छ । यस्ता शिविरहरूले ग्रामीण क्षेत्रमा लुकेर रहेका क्षयरोगका बिरामीहरू पहिचान गर्न, समयमै उपचारमा ल्याउन र क्षयरोग नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ ।