सुर्खेतमा १६ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनामा प्रहरीले वैज्ञानिक अनुसन्धान सुरु गरेको छ।
प्रहरीले सीआईबी, पोलिग्राफ र फरेन्सिक विज्ञ टोली परिचालन गरी घटनाको अनुसन्धान गरिरहेको छ।
परिवारले सामूहिक बलात्कारको आशंका गर्दै न्यायको माग गरेको छ, भने प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
सुर्खेत । बलात्कारपछि हत्या गरिएको भनिएकी १६ वर्षीया इनिसा विकसँग सम्बन्धित घटनामा प्रहरीले वैज्ञानिक तवरले अनुसन्धान अघि बढाएको छ । त्यसका लागि सीआईबीको एक टोलीदेखि पोलिग्राफसम्मको विज्ञ टोली अनुसन्धानमा सक्रिय भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक सुधिर राज शाहीका अनुसार यी टोलीले बिहीबार नै सुर्खेत आएर अनुसन्धान अघि बढाइसकेका छन् । नेपालगन्जबाट आएको पोलिग्राफ गर्ने विज्ञ टोलीले अभियुक्तहरूको बयानलाई परीक्षण गर्छ र झुटो बोलेको भए पत्ता लगाउँछ । जिल्ला प्रहरी कार्यालयका एक अनुुसन्धान अधिकृतका अनुसार प्रहरी अनुसन्धानको करिब निष्कर्षमा पुगिसकेको अवस्थामा सामाजिक सञ्जालदेखि सबैतिरबाट विभिन्न तरिकाले बहस गराइएपछि विभिन्न कोणबाट अनुसन्धान अघि बढाइएको हो ।
‘घटना गम्भीर प्रकृतिको भयो । परिवारहरूले समेत विश्वास नमान्ने अवस्था होला भनेर सबै किसिमको अनुसन्धान गर्न लागिएको हो,’ ती अनुसन्धान अधिकृतले भने, ‘ताकि पछि प्रश्न उठ्ने ठाउँ नहोस् ।’
सीआईबी, पोलिग्राफसँगै नेपालगञ्जबाट नै सीडीआर विश्लेषक लगायतको अर्को विज्ञ टोली पनि अनुसन्धानमा खटिएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख शाहीले पनि अनुसन्धानको कुनै पाटो नछुटोस् भनेर थप विज्ञहरूको टोलीको सहयोग लिइएको बताए । सुर्खेत प्रहरीले घटनाको प्रारम्भिक अनुसन्धान सकिएको दाबी गरेको छ । पोस्टमार्टम रिपोर्ट आइसकेको छ ।
यस्तै फरेन्सिक ल्याबहरूमा मोबाइल लगायत पठाइसकिएको छ । त्यस्तै केन्द्रीय विधि विज्ञान प्रयोगशालामा टक्सिकोलोजीकल रिपोर्टको लागि र बायो–सेरोलोजिकल परीक्षणका लागि पठाइएको छ ।
ती सबै रिपोर्ट आएपछि र ती रिपोर्टको विश्लेषण गरे पश्चात् प्रहरी एउटा निष्कर्षमा पुग्ने ती अनुसन्धान अधिकृत बताउँछन् । जिल्लामै पनि अनुसन्धानका लागि छुट्टै टोली गठन गरेर काम भइरहेको छ ।
भेरी अस्पताल बाँकेका फरेन्सिक विशेषज्ञ डा। अर्विन शाक्यको टोलीले प्रदेश अस्पताल सुर्खेतमा पुगेर गरेको पोस्टमार्टम रिपोर्टमा जबर्जस्ती करणी गर्दा मृतकको संवेदनशील अङ्ग च्यातिएको र अत्यधिक रक्तश्राव हुँदा मृत्यु भएको हुन सक्ने उल्लेख छ ।
हालसम्म भएको अनुसन्धान
पोस्टमार्टम रिपोर्टमा सोही कारण हुनसक्ने भनिए पनि भिसेरा परीक्षणपछि यकिन गर्न सक्ने भनेको छ । रिपोर्टको व्याख्यामा चाहिँ जेनाइटल पार्टहरूमा चोटपटक लागेको भनिएको छ । त्यो भनेको यौनाङ्ग, भित्र हाइमनदेखि पाठेघरमा पनि चोट लागेको कारणले अत्यधिक रक्तश्राव भएको उक्त रिपोर्ट अध्ययन गरेका ती अनुसन्धान अधिकृतले रातोपाटीलाई बताए ।
रिपोर्टअनुसार इनिसामाथि १६ वर्षीय अभियुक्तले जबर्जस्ती करणी गरेर यौन सम्बन्ध स्थापित गरेको हुन सक्ने आशङ्का प्रहरीको छ । ती किशोरले इनिसा आफ्नो प्रेमिका भएको बयान दिएका छन् भने सहमतिमै यौन सम्बन्ध राखिएको भनेका छन् । उनी शनिबार नै घटनास्थलबाट पक्राउ परेका थिए ।
‘करणीपछि नै इनिसाको जेनाइटल पार्टहरूमा चोटपटक लाग्नेदेखि रगत धेरै बग्दा मृत्यु भएको देखिन्छ,’ रिपोर्टलाई उद्धृत गर्दै ती अनुसन्धान अधिकृतले भने ।
घटनास्थलमा प्रहरीको अनुसन्धानबाट पनि इनिसाको शरीरका अन्य भागहरूमा चोटपटक नलागेको र यौनाङ्गबाट नै बगेको रगतले केही भाग भिजेको देखिएको छ । साथै जमिनमा पनि रगत बगेको दाग छ ।
‘घटनास्थल अलि समथर ठाउँ, नजिकै दायाँपट्टि झोला राख्या छ, केटाले केटीको मोजा, जुत्ताहरू खोलेर राखेको छ,’ अनुसन्धानमा खटिएका अनुसन्धान अधिकृतले भने, ‘अनि त्यहाँ जमिनमा ब्लड पनि छ । केटाले बोकेको झोला, अरु सामान छेउमा राख्या छ ।’
इनिशा मृत्यु प्रकरण स् न्याय नमिले शव नबुझ्ने परिवारको घोषणा
इनिशा मृत्यु प्रकरण स् न्याय नमिले शव नबुझ्ने परिवारको घोषणा
उनका अनुसार यौन सम्बन्धका बेला जबर्जस्ती गरेपछि अत्यधिक रगत बग्यो, केटी बेहोस भएपछि र रगत देखिसकेपछि केटा आफैँमा ‘के गरौँ, कसो गरौँ’ भनेर अत्तालिएको देखिन्छ । त्यसपछि उसले इनिसालाई तानेर लगभग साढे दुई मिटरजति पर लगेर समथर ठाउँमा राखेको उनले बताए ।
उनले भने, ‘तान्दा पात पतिङ्गरहरू लस्किएको देखिन्छ भने केटीलाई अल्टाई पल्टाई पनि गरेको देखिन्छ । त्यसपछि त्यहाँ सुताएर अरूलाई खबर गर्न गएको देखिन्छ ।’
प्रहरीका अनुसार इनिसाको यौनाङ्गको रक्तश्रावबाहेक ढाडमा अलि कोतरिएको छ । त्यो तान्दा साल तथा अन्य बोटविरुवाहरूले अलि कोतरेको खालको छ । ‘त्यसबाहेक शरीरमा अरु चोटपटक छैन,’ उनले भने ।
मुख्य अभियुक्त भनिएका किशोरले पक्राउ परेका अन्य तीन जनालाई अस्पताल लैजान भन्दै बोलाएको बयान दिएका छन् । यद्यपि परिवार र अन्य अधिकारकर्मीहरूले सामूहिक बलात्कार भएको भन्दै घटनालाई निष्पक्ष अनुसन्धानका लागि आवाज उठाइरहेका छन् ।
हालसम्मको अनुसन्धानबाट के देखिन्छ ?
गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भएकी १६ वर्षकी इनिसा हाल वीरेन्द्रनगर नगरपालिका–१ मा परिवारका साथ बस्दै आएकी थिइन् ।
शनिबार बिहान ६ बजे नै ट्युसन पढ्न जाने भन्दै घरबाट निस्किएकी उनी बिहान ९ बजेतिर वीरेन्द्रनगर नगरपालिका–४ को उत्तरतर्फ पर्ने जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा भेटिएकी थिइन् ।
प्रहरीले उनलाई प्रदेश अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।
इनिसाका परिवार तथा आफन्तहरूले सामूहिक हत्या भएको भन्दै न्यायको माग गरेका छन् । उनीहरूकै उजुरीका आधारमा प्रहरीले फागुन २४ गते अन्य तीन नाबागिलाई पनि पक्राउ गरेको छ ।
तर बयानका क्रममा मुख्य अभियुक्त भनिएका १६ वर्षीय किशोरले इनिसा बेहोस भएपछि अस्पताल लैजान अरु साथीको मद्दत मागेको भनेका छन् । उनीहरूले सही वा झूट बोलेका हुन् भन्ने कुरा पोलिग्राफबाट थाहा हुने छ ।
प्रहरीका अनुसार जबर्जस्ती करणी भएकै हो तर, सामूहिक र एकल भन्ने कुराहरूमा थप अनुसन्धान भइरहेको छ ।
तर सुर्खेत प्रहरीका एक अनुसन्धान अधिकृतका अनुसार, शनिबार बिहान ६ बजेदेखि उनीहरू जङ्गलतर्फ जाँदाखेरि इनिसा र ती १६ वर्षीय किशोरमात्रै गएको देखिएको छ । ‘सीसीटीभीमा दुई जना गएको देखिन्छ । उनीहरू हात समातेरै मजाले गएको देखिन्छ,’ ती अनुसन्धान अधिकृतले भने, ‘उनीहरूलाई नजिकबाट देख्नेहरूले पनि दुई जनालाई मात्रै देख्या छन् ।’
इनिसा र ती किशोर बिहान ६ बजेतिर गएका हुन् भने अन्य केटाहरू ८–९ बजेतिर माथि पुगेको अहिलेसम्मका आधारबाट देखिएको प्रहरीको भनाइ छ । ‘यद्यपि अहिले यही भन्न मिल्दैन, त्यसको अनुसन्धान पनि भइरहेकै छ, त्यो कुराहरू क्लियर आउँछ,’ ती प्रहरी अधिकारीले भने ।
इनिसाले घरमा आमासँग स्कुल ट्युसन पढ्न जान्छु भनेकी थिइन् । तर, उक्त दिन एक त शनिबार थियो भने अर्कोतिर निर्वाचनले सबै शैक्षिक संस्था बन्द भएका थिए ।
इनिसा र ती युवकबिच अघिल्लो दिन राति नै म्यासेन्जरमा भेट्ने सल्लाह भएको देखिन्छ । ‘स्कुल बन्द थियो, उसको घरमा के भन्यो भन्ने त्यो त हामीले थाहा पाउने कुरा भएन,’ ती अनुसन्धान अधिकृतले भने, ‘जे होस्, ती केटाकेटीहरू फोनमा कुरा गर्दै यसो भोलि बिहान भेटौँ न भन्ने सल्लाह भएर भेटेको हो ।’
अहिले पक्राउ परेकाहरू सबै इनिसाकै स्कुलमा अध्ययनरत नै हुन् । इनिसासँग आफ्नो केही समयदेखि प्रेम सम्बन्ध रहेको कुरा ती १६ वर्षे किशोरले बयान दिएका छन् ।
यद्यपि परिवार र आफन्तहरूले भने सामूहिक बलात्कार भएको र उनीहरू सबैलाई आजीवन काराबास वा मृत्युदण्ड हुनुपर्ने माग गरिरहेका छन् । त्यसैले प्रहरीले यी विषयहरूमा वैज्ञानिक तरिकाले थप अनुसन्धान गर्न थालेको हो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापाका अनुसार अहिले विभिन्न किसिमको अनुसन्धान भइरहेको छ ।
‘हाम्रो प्राविधिक कुरा सीडीआर हेर्ने टोलीले हेरिरहेको छ, प्रमाण जुटाउने कुरा, सोधपुछको कुरा इन्भेस्टिगेशन अफिसरले गरिरहेको छ,’ उनले भने, ‘केटाहरूले सही बोल्छन् कि झुटो बोल्छन् भन्ने हिसाबले पोलिग्राफको टोलीले हेरिरहेको छ ।’
यो राष्ट्रियस्तरको इस्यु बनेकाले केन्द्रको सीआईबीले पनि अनुसन्धान गरिरहेको छ ।
ratopati.com बाट
