फागुण २७, सल्यान ।
प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत सल्यानमा प्रत्यक्षतर्फ प्रतिस्पर्धा गरेका उम्मेदवारमध्ये चार जनाको मात्रै जमानत फिर्ता भएको छ भने अन्य १० जनाको जमानत जफत भएको छ ।
जिल्ला निर्वाचन कार्यालय सल्यानले सार्वजनिक गरेको मत परिणामअनुसार कुल ७९ हजार ७०९ सदर मतमध्ये आवश्यक मत प्रतिशत प्राप्त गरेका चार उम्मेदवारको मात्रै जमानत फिर्ता भएको हो ।
जमानत फिर्ता हुनेमा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रमेश कुमार मल्लले २३ हजार १८९ मत (२९.०९ प्रतिशत), राष्ट्रिय स्वतन्त्र पार्टीका ललित कुमार चन्दले २० हजार ९०४ मत (२६.२२ प्रतिशत), नेपाली कांग्रेसका केश बहादुर विष्टले १७ हजार ५५८ मत (२२.०२ प्रतिशत) र नेकपा (एमाले) का गुलाब जंग शाहले १५ हजार ३७३ मत (१९.२८ प्रतिशत) मत प्राप्त गरेका छन् ।
निर्वाचन ऐनअनुसार कुल सदर मतको १० प्रतिशतभन्दा कम मत प्राप्त गर्ने उम्मेदवारको जमानत जफत हुने व्यवस्था छ ।
यसअनुसार नेकपा (माओवादी) का चन्द्र बहादुर खड्काले ९४३ मत (१.१८ प्रतिशत), राष्ट्रिय प्रजातन्त्र पार्टीकी अनिशा नेपालीले ९०२ मत (१.१३ प्रतिशत), नेशनल रिपब्लिक नेपालका डिल्लि बहादुर घर्तीले २२२ मत (०.२७ प्रतिशत), श्रम संस्कृति पार्टीका धन बहादुर बुढामगरले १५० मत (०.१८ प्रतिशत), स्वतन्त्र उम्मेदवार ध्रुवराज वलीले १२० मत (०.१५ प्रतिशत), राष्ट्रिय जनमोर्चाकी कमला डाँगीले ११९ मत (०.१४ प्रतिशत), संयुक्त नागरिक पार्टीका कालिदास वि.क. ले ९९ मत (०.१२ प्रतिशत), नेपाल मजदुर किसान पार्टीका लाल बहादुर थापा क्षेत्रीले ६६ मत (०.०८ प्रतिशत), मंगोल नेशनल अर्गनाइजेशनका बाला सिंह घर्तीले ५२ मत (०.०६ प्रतिशत) र स्वतन्त्र उम्मेदवार जुद्ध बहादुर सिंहले १२ मत (०.०१ प्रतिशत) प्राप्त गरेपछि उनीहरूको जमानत जफत भएको हो ।
सल्यानमा प्रतिनिधि सभा सदस्यका लागि १४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए ।
