फागुन २४,सल्यान
सल्यानमा नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार रमेश कुमार मल्ल निर्वाचित हुनु भएको छ । उहाँले २३ हजार १ सय ८९मत प्राप्त गरी निर्वाचित हुनु भएको हो । उहाँका निकटतम प्रतिद्धन्दि राष्ट्रिय स्वतन्त्र पार्टीका ललित कुमार चन्दले २०,९०४ मत प्राप्त गर्नु भएको छ । चन्दलाई मल्लले २ हजार २ सय ८५ मतान्तरले पराजित गर्नु भएको हो ।

यस्तै नेपाली कांग्रेसका केश बहादुर विष्ट १७,५५८ नेकपा एमालेका गुलाब जंग शाहले १५३७३र राष्ट्रिय प्रजातन्त्र पार्टीकी अनिषा नेपालीले ९०२ मत प्राप्त गर्नु भएको छ ।
१ लाख ६२ हजार ४४९ मतदाता रहेको सल्यानमा ८३ हजार १ सय ६७ मत खसेको थियो । जसमा ३ हजार ४५८ मत बदर भएको थियो । ७९ हजार ४४९ मत मात्र सदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय सल्यानले जनाएको छ ।

को हुन निर्वाचित मल्ल

४७ वर्षीय रमेशकुमार मल्ल विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा उदाएका नेता हुन् । २८ माघ २०३५ मा सल्यानको कुमाख गाउँपालिका ५, बाल्लेमा जन्मिएका मल्ल पछिल्लो तीन दशकदेखि राजनीतिमा क्रियाशील छन् ।

२०५० सालमा उनले तत्कालीन माओवादीनिकट अनेरास्ववियु ९क्रान्तिकारी० को सदस्यता लिएर विद्यार्थी आन्दोलनमा होमिएका थिए । २०५३ सालमा शीतल उच्चमावि इकाइ समिति सदस्य भए । २०५४ मा क्रान्तिकारी विद्यार्थी संगठन सल्यान जिल्ला समितिको सदस्य हुँदै २०५६ सालमा जिल्ला अध्यक्ष बनेका थिए ।

यसका अतिरिक्त २०७१ फागुनदेखि २०७२ श्रावणसम्म त्रिभुवन विश्वविद्यालय सभाको सदस्य ९सिनेटर०, २०७३ साउनदेखि २०७४ जेठसम्म पहिलो पटक र २०७९ पुसदेखि २०८१ असारसम्म दोस्रो पटक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको स्वकीय सचिवका रूपमा काम गरे ।
त्रिभुवन विश्वविद्यालयबाट राजनीतिक शास्त्रमा स्नातकोत्तर गरेका मल्लले प्रारम्भिक शिक्षा गाउँकै अरनिको प्राविबाट लिएका थिए । माध्यमिक तहको शिक्षा रुकुमको शीतल उमावि, चौरजहारीबाट पूरा गरेका थिए ।

संसदीय राजनीतिको मैदानमा भने मल्ल पहिलो पटक उभिएका हुन् ।जनयुद्धकालका १० वर्षे कठिन भूमिगत जीवन र शान्ति प्रक्रियापछिका २० वर्षमा राजनीतिका विविध उतारचढाव, पार्टीका अनेकन अन्तरविरोधमा सामेल भएका रमेशले पहिलोपटक जनतामाझ परीक्षित हुने मौका पाएका हुन् ।