सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को नगरस्तरीय बैठक तथा प्रशिक्षण भेला सम्पन्न भएको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै आइतबार बनगाड कुपिण्डे नगरपालिकाको सल्लीबजारमा भेला आयोजना गरिएको हो।पार्टीका नेता दुर्गाबहादुर बुढाथोकीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री प्रकाश ज्वाला प्रमुख अतिथि रहनुभएको थियो भने केन्द्रीय सदस्य एवं पूर्वमन्त्री टेकबहादुर बस्नेत विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा नेता कृतीबहादुर पुन, रमेश कुमार मल्ल, कर्णबहादुर बुढाथोकी, तिलकराज भण्डारी, गणेश बुढा क्षेत्री लगायतको सहभागिता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कम्युनिष्ट पार्टीका प्रतिनिधिसभा सदस्य उम्मेदवार रमेश कुमार मल्लले सुशासन, सामाजिक समानता र जनजीवनमा ठोस परिवर्तनका लागि कम्युनिष्ट आन्दोलनलाई जनताले थप बल दिनुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले बनगाड कुपिण्डे नगरपालिका र समग्र सल्यान जिल्लाको दिगो विकासका लागि स्पष्ट कार्ययोजना तथा जनमुखी प्रतिबद्धतासहित आफू मतदाताको विश्वास जित्न चुनावी मैदानमा उत्रिएको बताउनुभयो।

सन्तोष विसीले सञ्चालन गरेको कार्यक्रममा नगरपालिकाभित्रका १२ वटै वडाबाट संगठनात्मक तथा राजनीतिक अवस्थाबारे रिपोर्टिङ प्रस्तुत गरिएको थियो। भेलाले तारा चुनाव चिन्हवाहक उम्मेदवार रमेश कुमार मल्ललाई विजयी बनाउन बनगाड कुपिण्डे नगरस्तरीय १७५ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ। समितिको संयोजकमा कृतीबहादुर राना, सहसंयोजकमा दिपक एरी तथा सचिवमा दुर्गाबहादुर बुढाथोकी चयन हुनुभएको छ।

त्यसैगरी, सल्लीबजारमा निर्वाचन परिचालन सम्पर्क कार्यालयसमेत उद्घाटन गरिएको छ। भेलाले संगठन विस्तार, जनसम्पर्क सुदृढीकरण र चुनावी रणनीतिलाई प्रभावकारी बनाउने निर्णयसमेत गरेको जनाइएको छ।