सल्यान १८ माग । नेकपा एमाले सल्यानले प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्लाका विभिन्न स्थानमा चुनावी गतिविधिलाई तिव्र बनाएको छ। यसैक्रममा छत्रेश्वरी र त्रीवेणी गाउँपालिकामा उम्मेदवार सहितका भेला तथा बैठकहरू सम्पन्न भएका छन्। आइतबार छत्रेश्वरी गाउँपालिका वडा नं. ५ मा नेकपा एमालेको चुनावी बैठक तथा भेला वडा कमिटी अध्यक्ष टंक वलीको अध्यक्षतामा सम्पन्न भएको हो । बैठकलाई सम्बोधन गर्दै नेकपा एमाले प्रदेश कमिटी अध्यक्ष तथा आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा सल्यानबाट उम्मेदवार गुलाबजंग शाहले यो निर्वाचन देश बनाउने र जलाउने शक्तिबीचको लडाइँ भएको उल्लेख गर्नुभयो। देश निर्माणको अग्रणी पार्टी नेकपा एमाले भएकाले यस निर्वाचनमा एमालेको जित अपरिहार्य रहेको बताउनु भयो । उम्मेदवार शाहले जिल्लाको विकास र समृद्धिको नेतृत्व पनि एमालेकै नेतृत्वमा सम्भव हुने बताउँदै सबै नेता–कार्यकर्ता तथा आम नागरिकलाई एमालेमा गोलबन्द हुन आग्रह गर्दै आफूहरू जनतासँग एकाकार भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उक्त बैठकमा नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार गुलाबजंग शाह, कर्णाली प्रदेश कमिटी सदस्य कुन्ता बस्नेत, एमाले सल्यानका उपाध्यक्ष ओज बहादुर बुढाथोकी, कर्णाली प्रदेश सल्लाहकार डिल्ली ओली, छत्रेश्वरी निर्वाचन परिचालन कमिटी संयोजक राजबहादुर बुढाथोकी, अनेमसंघ कर्णाली प्रदेश सदस्य बुद्ध कुमारी खत्री, एमाले सल्यान सचिवालय सदस्य फौद बस्नेत, तोमानन्द केसी, धर्म बिक, जिकस तिला घर्ती, पालिका कमिटी अध्यक्ष ज्ञान बहादुर खड्का, युवा संघ केन्द्रीय सचिवालय सदस्य प्रीन्स बस्नेतलगायत नेताहरूको आतिथ्यता रहेको थियो।
यसैगरी, आइतबार नै त्रीवेणी गाउँपालिका वडा नं. ३ मा नेकपा एमालेको भेला, बैठक तथा उम्मेदवारसँग भेटघाट कार्यक्रम पनि सम्पन्न भएको छ। कार्यक्रममा प्रदेश कमिटी सदस्य बुद्धि केसी, जिल्ला कमिटी सचिवालय सदस्य भिउसेन नेपाली, जिकस शालिकराम थापा, पालिका कमिटी अध्यक्ष डिल्लिराज खड्का, वडा कमिटी अध्यक्ष तारा बहादुर रानालगायतको सहभागिता रहेको थियो । कार्यक्रममा स्थानीयवासीहरूले मोटरबाटो निर्माण तथा खानेपानीको गुणस्तर वृद्धिको अपेक्षा व्यक्त गर्दै गाउँ–गाउँमा विकासको लहर ल्याउने पार्टी नेकपा एमाले नै भएको आफूहरूले बुझेको धारणा राखेका थिए ।
आजकै दिन उम्मेदवार गुलाबजंग शाहले लुहाम बजार क्षेत्रमा पनि मतदाता भेटघाट कार्यक्रम सम्पन्न गर्नुभएको छ।
समग्रमा सल्यान जिल्लामा नेकपा एमाले एकमत र एकढिक्का भएर निर्वाचनमा होमिएको नेताहरूले बताएका छन्।

