सल्यान, २६ साउन । स्कन्दपुराणको दशौं अध्यायमा वर्णन भएको सल्यान स्थित क्षत्रेश्वरी सतिपिठमा साउनको अन्तिम सोमबार (आज) बिहानै देखि दर्शनार्थीहरुको भिड लागेको छ । छत्रेश्वरी गाउँपालिका वडा नम्बर ६ स्थित छत्रेश्वरी मन्दिर संगै छायाँ ढुंगा, पिशाचेश्वर मन्दिर, शंखपार्क, लान्ती स्थित १०८ शिव लिंग, राप्ति राजमार्गमा रहेको मरठाचौर शिव मुर्ति लगायतका ठाउँमा पुजा अर्चना भैरहेको छ । साउनको हरेक सोमबार व्रत बसेका महिलाहरुले बिशेश गरेर छत्रेश्वरी सतिपिठमा बिधिपुर्वक पुजापाठ गरेर व्रत समाप्त गर्दैछन् । छत्रेश्वरी देवीको मन्दिर नेपालका शक्तिपीठहरुमध्ये बली नचढाइने एकमात्र शक्ति पीठ हो ।

छत्रेश्वरीमा सर्वप्रथम अष्टभैरवले पूजा आराधना गरेकाले कुनै पनि अवसरमा बलि चढ्ने गर्दैन । आफूले पनि बिहानै मन्दिरको दर्शन गरेको उल्लेख गर्दै छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले जिल्लाका विभिन्न स्थानबाट समेत छत्रेश्वरीमा पुजा अर्चनाका लागि भक्तजनहरु आइरहेको उल्लेख गर्नुभयो । छत्रेश्वरी सतिपिठको विकासका लागि पछिल्लो समय पदमार्ग, प्रतिक्षालय एवं बिसौनिहरु निर्माण गरिएको भन्दै उहाँले धार्मिक आस्थाको केन्द्र यस क्षेत्रको संरक्षण तथा प्रवर्द्धनका लागि निरन्तर लागिपरेको बताउनुभयो । सत्ययुगको ऐतिहासिक सन्दर्भसँग जोडिएको छत्रेश्वरी मन्दिर सतीदेवीको शक्तिपीठको रूपमा चिनिन्छ । जनविश्वास अनुसार भगवान शिवले सतीदेवीको मृत शरीर बोकी विश्व यात्रा गर्नेक्रममा यसै स्थानमा सतीदेवीको शरीरको शेष अङ्ग खसेको थियो । यही ऐतिहासिक मान्यता अनुसार यो स्थान शक्तिपीठको रूपमा पूजनीय रहँदै आएको छ । हरेक वर्ष महाशिवरात्री तथा अन्य चाडपर्वमा हजारौं श्रद्धालु यो मन्दिरमा दर्शनका लागि आउने गर्दछन् । धार्मिक पर्यटनका लागि एक सुन्दर गन्तव्य स्थल बनेको छत्रेश्वरी मन्दिर सदरमुकाम सल्यान खलङ्गादेखि पूर्वतिर २३ किलोमिटर र राप्ती राजमार्गको नजिकै शङ्खमूलबाट ४ किलोमिटरको दूरीमाथि थुम्कोमा अवस्थित छ ।