सल्यान, साउन ११ ।
देशभर व्याप्त रसायनिक मलको चरम अभावका कारण कृषकहरूलाई परेको समस्याप्रति ध्यानाकर्षण गराउँदै सल्यानको वाइसिएलले सरकारलाइ ज्ञापनपत्र पेश गरेको छ।
योङ कम्युनिष्ट लिग नेपाल ycl सल्यानले प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुविदी मार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको हो ।
भ्रष्टाचार, कालोबजारी र विकृति–विसंगतिको विरुद्ध तथा सुशासनको पक्षमा आवाज उठाउँदै आएको भन्दै त्यसकै निरन्तरतामा अहिले मल अभावको समस्यालाई लिएर गम्भीर चिन्ता व्यक्त गरिएको वाइसिएलले जनाएको हो ।
जिल्ला इन्चार्ज धन बहादुर परियार र अध्यक्ष खडक प्रसाद खड्काले संयुक्त रूपमा हस्ताक्षर गरेको ज्ञापनपत्रमा वर्षायाममा पनि देशभरका कृषकहरू मलको चरम अभावका कारण खेती गर्नबाट वञ्चित भइरहेको बताएका छन । पटकपटकको सरकारी आश्वासनका बाबजुद पनि मल आपूर्ति सहज र सरल नभएको, र यो अवस्था योजनाबद्ध ढंगले सिर्जना गरिएको आरोप ज्ञापनपत्रमा लगाइएको छ ।
ज्ञापनमा अझ भनिएको छ, “सरकारको पहुँचका आधारमा असमान वितरण, दलाल तथा बिचौलियामार्फत हुने कालोबजारी र कमिसनको खेलका कारण लाखौं किसान आक्रान्त छन्। सरकारले गम्भीर ढंगले समस्या समाधान नगरे स्थिति झन् भयावह बन्छ ।”
थ्ऋी सल्यानेले यस्ता समस्याप्रति घोर आपत्ति र निन्दा प्रकट गर्दै तत्काल मल आपूर्ति सुनिश्चित गर्न र वितरण प्रणाली न्यायसंगत बनाउन जोडदार माग गरेको छ । साथै, यदि चाँडै मल आपूर्ति नहुँदा थ्ऋी नेपालले आफ्नो अभियानलाई देशव्यापी बनाउने र आन्दोलनमा रूपान्तरण गर्ने चेतावनीसमेत दिएको छ ।
