साउन ६, २०८२ मंगलबार
वीरेन्द्रनगर  कर्णाली प्रदेश प्रमुख यज्ञराज जोसीले स्थानीय तहका कर्मचारीहरूको वृत्ति विकासमा महत्वपूर्ण मानिएको ‘स्थानीय सेवा गठन तथा सञ्चालन ऐन २०८१ लाई संशोधन गर्न बनेको विधेयक’ प्रमाणीकरण गरेका छन्। गत बुधबार प्रदेश सभामा सर्वसहमतिले पारित भएको उक्त विधेयक मंगलबार प्रदेश प्रमुख जोसीले प्रमाणीकरण गरेका हुन् । कर्णाली प्रदेश सभाले स्थानीय तहका कर्मचारीहरूको वृत्ति विकासमा महत्वपूर्ण मानिएको ‘स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन २०८१ लाई संशोधन गर्न बनेको विधेयक’ गत बुधबार सर्वसम्मतिले पारित गरेको थियो। अब उक्त ऐन लागू भएको छ । यसले कर्णाली प्रदेशका कर्मचारीको स्तरवृद्धिका लागि आवश्यक भौगोलिक क्षेत्रमा काम गरेको हुनुपर्ने अनिवार्य प्रावधान हटेको छ । लामो समयदेखि स्थानीय तहका कर्मचारीहरूले उठाउँदै आएको यो माग सम्बोधन भएपछि उनीहरूले यसलाई महत्वपूर्ण उपलब्धिका रूपमा लिएका छन् । नेपाल निजामती कर्मचारी संगठन कर्णाली प्रदेशका सचिव पूर्णचन्द्र काफ्लेले प्रदेश सभाबाट सर्वसहमतिले पारित भएको विधेयक प्रदेश प्रमुखद्वारा प्रमाणीकरण भई लागू भएकोमा आफूहरू उत्साहित भएको बताए ।