सल्यान, २० असार । सरकारले सुनमा लगाईएको २ प्रतिशत विलासिता कर र बहुमूल्य हिरा तथा रत्नमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लागू गरेपछि त्यसको विरोधमा सल्यान खलंगामा शान्तिपूर्ण विरोध र्याली तथा कोणसभा सम्पन्न गरिएको छ । कार्यक्रम सल्यान सुनचाँदी व्यवसायी समिति र द कर्णाली सुनचाँदी व्यवसाय समिति सल्यानको आयोजनामा गरिएको हो । विरोध र्याली खलंगा टुडिखेलबाट सुरुभई ठन्डी सडक, हुलाक रोड, जिल्ला प्रशासन कार्यालय हुदै बजार परिक्रमा गर्दै पुरानो बसपार्कमा आएर कोणसभामा परिणत भएको थियो,
कोणसभालाई सम्बोधन गर्दै नेपाल सुनचाँदी व्यवसायी समिति केन्द्रका सदस्य मेगराज सुनारले सुनचाँदी व्यवसायीलाई जोगाउने होइन, सिध्याउने काम सरकारले गरिरहेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, “थोरै लगानीमा गरिने यो व्यवसाय अहिले धेरै कर र नियमको मारमा परेको छ । ग्राहकहरू करकै कारण पछि हट्न थालेका छन्, हाम्रो व्यापार सुक्दै गएको छ । सरकारको हालको कर प्रणालीले स्थानीय व्यवसायीको ढाड सेकेको गुनासो गर्नुभयो । “एकातिर साना व्यवसायीलाई आर्थिक संकटले घेरेको छ भने अर्कोतिर राज्यले थप कर थोपरेर झनै कठिन बनाइरहेको छ,” उहाँले भन्नुभयो, “सुन कुनै विलासिता होइन, यो हाम्रो संस्कृति, परम्परा र जीवनशैलीसँग जोडिएको छ ।” उहाँले विशेष गरी गाउँ तथा पहाडी जिल्लामा सुनचाँदीको कारोबार जीवन निर्वाहको एउटा माध्यम भएको उल्लेख गर्दै ग्रामीण व्यवसायीमाथि लगाइएको यस्ता करहरू तत्काल फिर्ता लिन सरकारसँग माग गर्नुभयो ।
सल्यान सुनचाँदी व्यवसायी समितिका अध्यक्ष रमेश सुनारले करको नाममा सस्तो लोकप्रियता कमाउन खोज्ने सरकारको प्रवृत्ति खतरनाक बन्दै गएको बताउनुभयो । उहाँले सरकारलाई चेतावनी दिँदै भन्नुभयो, “यस्ता करहरूले इमानदार व्यवसायी कमजोर बनाउँछ, अवैध सुन ओसारपसार र कालोबजारीलाई बढावा दिन्छ । सरकारले करको नाममा असमानता, अन्याय र अराजकता फैलाउँदैछ । उहाँले केन्द्रमा बसेर नीति बनाउनेहरूलाई दुर्गमका अवस्था बुझेर निर्णय लिन आग्रह गर्नुभयो । संघीय सरकार र सम्बन्धित निकायलाई तत्काल व्यवसायीहरूसँग संवाद र माग पुरा गर्न पनि आग्रह गर्नुभयो ।
त्यस्तै द कर्णाली सुनचाँदी व्यवसाय समिति सल्यानका अध्यक्ष घन बहादुर सुनारले विगतदेखि नै बारम्बार स्थानीय, प्रदेश तथा केन्द्र सरकारमा आफ्नो पीडा सुनाउँदै आएको तर सुनुवाइ नभएको गुनासो गर्नुभयो । उहाँले राज्यको नीति सिधै व्यवसायीहरू माथिको आक्रमण भएको उल्लेख गर्दै यदि चाँडै नीति फिर्ता नभए जिल्ला, प्रदेश हुँदै संघीय स्तरसम्म सशक्त आन्दोलनको तयारी गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, स्थानीय व्यवसायीहरूले आन्दोलित हुनुपर्ने अवस्था आउनु दुखद हो । हामी कुनै कर नतिर्ने भन्ने होइनौं, तर अन्यायपूर्ण करको विरोध हाम्रो अधिकार हो ।
सुनार यस्तो करले उपभोक्तामा समेत नकारात्मक असर पार्ने उल्लेख गर्दै, विवाह, संस्कार र धार्मिक कार्यमा सुनचाँदी प्रयोग गर्नसमेत कठिन हुने परिस्थिति सिर्जना भइरहेको बताए। उहाँले सरकारसँग कर प्रणाली पुनरावलोकन गरी ग्रामीण क्षेत्रका व्यवसायीलाई राहत दिने कार्य तत्काल थाल्न अनुरोध गर्नुभयो ।
र्यालीमा सुनचाँदी व्यवसायीहरूले सल्यान जिल्ला प्रशासन कार्यालय अगाडी नारावाजी गर्दै जिल्लाका विभिन्न स्थानबाट आएका सुनचाँदी व्यवसायीहरूको उल्लेख्य उपस्थिति रहेको थियो । सहभागीहरू टाउकोमा कालोपट्टी बाँधेर,
–सुनमा लगाईएको २ प्रतिशत बिलासिता कर र बहुमुल्य हिरा पत्थरमा १३ प्रतिशत भ्याट खारेज गर ।
–सुनको भानसारमा ६ प्रतिशत कर कायम गर ।
–उपभोक्ता, कर्मचारी, कालिगढ तथा व्यवसायी मैत्री ऐन तुरुन्त जारी गर ।
–सुन वितरण प्रणालीलाई परीमार्जन गरी १०० र २०० ग्राम सम्मको सानो परिमानको सुन प्रदेश बैंकबाट बितरण गर ।
– अन्यायकारी कर खारेज गर ।
–सुनचाँदी व्यवसाय बचाऊ ।
–व्यवसायीमाथि करको भार बन्द गर ।
जस्ता नारा बोकेर बजार परिक्रमा गर्दै सभा स्थल पुगेका थिए । कार्यक्रममा सहभागी व्यवसायीहरूले तत्काल कर खारेजी नगरेमा देशभर चरणबद्ध आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् ।
सल्यान खलंगामा सम्पन्न भएको विरोध कार्यक्रमले सरकारको हालको कर नीति प्रति स्थानीय व्यवसायी, उपभोक्ता र नागरिकमा गहिरो असन्तोष छ । सुनमा २ प्रतिशत विलासिता कर र १३ प्रतिशत भ्याट लागू गर्ने निर्णयले व्यवसायमात्र होइन, सामाजिक र सांस्कृतिक अभ्यासमा समेत असर पार्ने देखिएको छ । यदि सरकारले यस्तो नीति तत्काल फिर्ता लिएन भने, सल्यानको यो आवाज चाँडै देशव्यापी आन्दोलनको स्वरूप लिन सक्छ । सरकारले व्यवसायीहरूको पीडा सुन्ने, संवाद गर्ने र सुधार गर्ने तत्परता देखाउन नसके देशको साना व्यवसाय क्षेत्र पूर्णरूपमा धरासायी हुने खतरा देखिँदैछ ।


