सल्यान, १ जेठ । महिला सामुदायिक स्वास्थ्य स्वयमसेविकाहरूका लागि १० दिने आधारभूत तालिम विहिबारदेखि सल्यानको छत्रेश्वरी गाउँपालिकामा सुरु भएको छ । यस अघि तालिम प्राप्त नगरेका छत्रेश्वरी गाउँपालिका र शारदा नगरपालिकाका महिला स्वास्थ्य स्वयमसेविकाहरूलाई प्राथमिक स्वास्थ्य सेवा, पोषण, सरसफाइ, मातृशिशु स्वास्थ्य, रोग पहिचान र प्रारम्भिक उपचार सम्बन्धी ज्ञान तथा सीप प्रदान गर्ने उद्देश्य रहेको छ । स्वास्थ्य सेवा कार्यालय सल्यान र छत्रेश्वरी गाउँपालिकाको संयुक्त आयोजनामा सुरु भएको तालिम उद्घाटन कार्यक्रममा बोल्दै कर्णाली प्रदेश समन्वय परिषद्का सदस्य तथा छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले प्राथमिक स्वास्थ्य सेवाको प्रभावकारी कार्यान्वयनका लागि महिला स्वास्थ्य स्वयमसेविकाहरुको भुमिका अतुलनीय भएको बताउनुभयो । उहाँले भन्नुभयो, “घरघरमा पुगेर स्वास्थ्य शिक्षा दिने, गर्भवती र सुत्केरी महिलाको ख्याल राख्ने, बालबालिकाको खोप सुनिश्चित गर्नेजस्ता कार्यमा स्वयमसेविकाहरुको महत्वपूर्ण भुमिका रहँदै आएको छ । यस प्रकारको तालिमले उहाँहरुलाई सक्षम र आत्मविश्वासी बनाउने अपेक्षा हाम्रो छ ।” यस्तै गाउँपालिका उपाध्यक्ष बुद्ध कुमारी खत्रीले तालिममार्फत थप दक्ष बनेर महिला सामुदायिक स्वास्थ्य स्वयमसेविकाहरूले अझ प्रभावकारी सेवा दिने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रमको उद्घाटन सत्रमा स्वास्थ्य सेवा कार्यालय सल्यानका जनस्वास्थ्य निरीक्षक कविता खनालले दिगो विकासका लक्ष्यहरू पूरा गर्न महिला स्वास्थ्य स्वयंसेविकाहरूको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्दै विगतमा सहस्राब्दी विकास लक्ष्य हासिल गर्नमा पनि उहाँहरूको योगदान उल्लेखनीय रहँदै आएको बताउनुभयो । स्वास्थ्य सेवा कार्यालय सल्यानका कार्यक्रम संयोजक थलराज डिसीले तालिमको उद्देश्यबारे जानकारी गराउँदै महिला स्वास्थ्य स्वयंसेविकाहरू समुदायको पहिलो सम्पर्कबिन्दुको रुपमा रहने भएकाले गाउँस्तरमै आधारभूत स्वास्थ्य सेवा, जानकारी र सल्लाह दिएर विशेष गरी दुर्गम बस्तीहरूमा स्वास्थ्य सेवाको पहुँच पुरयाउन तालिमले सहयोग पुर्याउने बताउनुभयो । तालिममा जम्मा १७ जना सहभागी हुनुहुन्छ । पाँचजना शारदा नगरपालिकाबाट र १२ जना छत्रेश्वरी गाउँपालिकाबाट तालिममा सहभागि रहेको छत्रेश्वरी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गणेशमान डाँगीले जानकारी दिनुभयो । तालिम उघ्घाटन कार्यक्रममा शारदा नगरपालिका स्वास्थ्य शाखाका उपसंयोजक अनुलक्ष्मी थापा, छत्रेश्वरी गाउँपालिका स्वास्थ्य शाखाका पहेन विमला डाँगी लगाएतको सहभागिता रहेको थियो । तालिमको सहजकर्ताको रुपमा छत्रेश्वरी गाउँपालिकाका सिअहेव वीर बहादुर वली र सिअनमी कोपिला परियार रहनुभएको छ ।
