नोखिराम थापा
सल्यान, १६ चैत । राजाबादीहरुको आन्दोलनका क्रमका शुक्रबार भएको पत्रकार सुरेश रजकको हत्या र सञ्चारमाध्यम माथि भएको ज्यादतीका विरोधमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा सल्यानले शोक तथा विरोध सभा गरेको छ । महासंघ सल्यानले एभिन्युज टेलिभिजनमा कार्यरत पत्रकार रजक प्रति श्रद्धाञ्जली व्यक्त गर्दै सल्यान सदरमुकाम खलंगास्थित पुरानो बसपार्कमा रहेको प्रतिक्षालयमा विरोध सभा गरेको हो ।
शनिबार बिहान १० बजे देखि ११ बजेसम्म एक घण्टा विरोध सभा गरी पत्रकार रजकको हत्यामा संलग्न जो कोहीलाई छानबिन गरी हदैसम्मको कानुनी कारबाहीको माग गरिएको छ। पत्रकारिता लोकतन्त्रको आधारभूत खम्बा भएको भन्दै महासंघले पत्रकारहरूमाथि कुनै पनि हिंसात्मक गतिविधि सह्य नहुने पत्रकार महासंघ सल्यानले स्पष्ट पारेको छ । सभामा पत्रकार रजकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेट मौनधारण पनि गरिएको थियो ।

पत्रकारहरूमाथि भएका हत्या, दमन, सञ्चारमाध्यममाथि गरिएका आगजनी तथा तोडफोडका घटनाहरूको विरोध स्वरूप सभा आयोजना गरिएको नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष डिल्लीराज रावतले बताउनुभयो । पत्रकारको सुरक्षाको लागि राज्यले चासो नखाएको बताउनु भयो । उहाँले पत्रकार सधै नागरिक अधिकार र राजनितिक अधिकारको लागि लडेको बताउदै स्वतन्त्र प्रेसको रक्षा र अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितताका लागि नेपाल पत्रकार महासंघ सल्यानले विरोध जनाएको बताउनुभयो । आज पत्रकार महासंघको स्थापना दिवस समेत हो तर यही समयमा पत्रकार र मिडियामाथि आक्रमण भएपछि महासंघले पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेर विरोध प्रदर्शन गरेको हो । अध्यक्ष रावतले घटनामा संलग्न जो कोहीलाई छानबिन गरी कानुनी दायरामा ल्याउनु पर्ने माग गर्नु भयो ।
विरोध सभामा नेपाल पत्रकार महासंघ सल्यानका पुर्व अध्यक्ष रमेश गौतमले पत्रकार सुरेश रजकको हत्या र मिडिया गृहमाथि आक्रमण गर्नेलाई कानुनी कारबाही गर्न माग गर्नु भयो । घटनामा संलग्न जो कोहीलाई छानबिन गरी कानुनी दायरामा ल्याई पत्रकारहरूको सुरक्षा, प्रेस स्वतन्त्रताको संरक्षणमा सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराएको उहाँले बताउनु भयो । पत्रकारकालाई सधै जोखिम पुर्णा कार्यमा भईरहेको र देशमा परिवर्तनको लागि ठुलो योगदान पु¥याएको भुल्न नहुने बताउनु भयो ।
तेस्तै नेपाल पत्रकार महासंघ सल्यानका पुर्व का.भा अध्यक्ष सनत कुमार शर्माले पत्रकारहरू कुनै पक्षमा नभएको र विरोधीहरूको पहिलो निशानामा पत्रकार र सञ्चारमाध्यमहरू विगतदेखि नै पर्दै आएको बताउनुभयो । पत्रकारलाई कुनै पनि प्रकारको निरंकुशता स्वीकार्य नभएको भन्दै नागरिक स्वतन्त्रताका पक्षमा रहेका पत्रकारका विरुद्धमा सधैँ यस्ता गतिबिधि नगर्न अनुरोध गर्नुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय सदस्य टेकराज शाही, गैरसरकारी संस्था महासंघ सल्यानका अध्यक्ष रामचन्द्र रेग्मी, मानव अधिकार यलायन्स सल्यानका अध्यक्ष राम बहादुर के.सी, प्रेस चौतारी सल्यानका अध्यक्ष भुम प्रकाश भण्डारी लगायत जिल्लामा क्रियाशिल पत्रकार तथा संचारकर्मीहरुको सहभागीता रहेको थियो । कार्यक्रमको सहजिकरण नेपाल पत्रकार महासंघ सल्यानका सह सचिव खेमराज सुनारले गरेका थिए ।

