सल्यान, १५ चैत्र । सल्यानको छत्रेश्वरी गाउँपालिकाले पशुपालन व्यवसायलाइ प्रवद्र्धन गर्ने उदेश्यले किसानहरुलाइ ५० प्रतिशत अनुदानमा आधुनिक कृषि यन्त्र वितरण गरेको छ । शुक्रबार कृषि यन्त्र हस्तान्तरण गर्दै गाउँपालिका उपाध्यक्ष बुद्ध कुमारी खत्रीले आधुनिक प्रविधिको प्रयोगले कृषि उत्पादन वृद्धि हुने र कृषकको मेहनत बचत हुने भएकाले यस्ता कार्यक्रमलाई गाउँपालिकाले प्राथमिकता दिएको बताउनुभयो । उहाँले किसानहरूको आयआर्जनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । किसानहरुको माग धेरै भएपनी सिमित श्रोत साधन भएका कारण व्यवसायीक रुपमा अघि बढ्न अग्रसर किसानहरुलाइ छनौट गरिएको उहाँको भनाइ छ ।

समूह, फर्म तथा सहकारीमा आवद्ध किसानहरुलाइ शुक्रबार कृषि यान्त्रिकरण उपकरण वितरण गरिएको हो । १० वटा फर्म, समूह र सहकारीलाइ कृषि यन्त्र हस्तान्तरण गरिएको हो । करिव छ लाख रुपैया बराबरका पाँच थान च्याप कटर, तीन थान मिनि टिलर, तीन थान ब्रस कटर, १७ थान प्लास्टिक फिडर र एक थान पानी मोटर वितरण गरिएको हो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गुरु प्रसाद योगी, पशु विकास शाखा प्रमुख डा. रुकेश घिमिरे, कृषि विकास शाखा प्रमुख सुदीप खनाल, स्वास्थ्य शाखा प्रमुख गणेशमान डाँगी सहित अन्य कर्मचारी लगाएत किसानहरुको पनि सहभागिता रहेको थियो ।