तुलसीपुर, फागुन २९

तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको चैत २ गते हुने निर्वाचनका लागि शोभाराम पुन मगरले सदस्य पदमा ‘केरा’ चुनाव चिन्ह लिएर उम्मेदवारी दिएका छन् । व्यवहारमा पनि केराझैं मीठा र अहिले सम्म कुनै दाग न लागेका निष्कलङ्क व्यक्तित्वका धनी पुन मगर स्वच्छ छवि, इमानदार सेवाभाव र समाजसेवामा सक्रियताको कारण उपभोक्ताहरूको रोजाइमा पर्ने अपेक्षा गरिएको छ ।

उनी उपभोक्ताहरूको सेवा र संस्थाको पारदर्शिता कायम गर्न कटिबद्ध छन् । खानेपानी मात्र नभई संस्थाको समग्र सुधारका लागि आफूले भूमिका खेल्ने प्रतिबद्धता जनाउँदै उनले सबै मतदातासँग साथ र सहयोगको अपिल गरेका छन् ।

शोभाराम पुन मगरले आफ्नो चुनावी घोषणापत्रमा निम्न महत्वपूर्ण बुँदाहरू समावेश गरेका छन्:

सफा, स्वच्छ र निरन्तर खानेपानी आपूर्तिको सुनिश्चितता – उपभोक्ताहरूले गुणस्तरीय पानी नियमित रूपमा पाउने वातावरण सिर्जना गरिनेछ ।

नयाँ धाराहरू जडान सहज बनाइनेछ – उपभोक्ताहरूलाई झन्झट बेहोर्न नपर्ने गरी सहज र पारदर्शी सेवा प्रदान गरिनेछ ।

पुराना पाइपलाइनहरूको मर्मत तथा विस्तार – पानी चुहावट न्यूनीकरण गर्दै नयाँ क्षेत्रसम्म सेवा विस्तार गरिनेछ ।

संस्थामा सुशासन र पारदर्शिता – सेवा प्रवाहलाई चुस्त, दुरुस्त र भ्रष्टाचारमुक्त बनाइनेछ ।

नयाँ योजना र प्रविधिको उपयोग – खानेपानी व्यवस्थापनलाई थप प्रभावकारी बनाउन आधुनिक प्रविधिको प्रयोग गरिनेछ ।

सरोकारवालासँग समन्वय र सहकार्य – सम्बन्धित निकायहरूसँग सहकार्य गर्दै संस्थाको सेवा स्तर वृद्धि गरिनेछ ।

उपभोक्तासँग प्रत्यक्ष संवाद र समस्या समाधान – उपभोक्ताहरूको गुनासो, समस्या र सुझावलाई प्राथमिकतामा राखी तिनको समाधान गर्न पहल गरिनेछ ।

शोभाराम पुन मगरले आफ्नो उम्मेदवारी जनताको सेवा गर्ने अवसरका रूपमा लिएको बताएका छन् । “मैले खानेपानी सेवाको गुणस्तर सुधार गर्न, उपभोक्ताहरूको हकहित सुरक्षित गर्न र संस्थालाई पारदर्शी बनाउने उद्देश्य सहित उम्मेदवारी दिएको हुँ । म व्यवहारमा जस्तै सेवामा पनि इमानदार रहनेछु । अहिलेसम्म ममाथि कुनै दाग लागेको छैन, भविष्यमा पनि स्वच्छ छवि सहित काम गर्ने प्रतिज्ञा गर्दछु,” उनले भने ।

उनले उपभोक्ताहरूको हकहितका लागि आफूले सक्दो मेहनत गर्ने बताउँदै सबै मतदातालाई आफ्नो अमूल्य मत दिई विजयी गराउन आग्रह गरेका छन् । “यो संस्था सबै उपभोक्ताहरूको हो, यसको सही व्यवस्थापन हाम्रो जिम्मेवारी हो । मलाई जिताएर तपाईंहरूको सेवामा खटिने अवसर दिनुहोस्,” उनले अपिल गरे ।

चैत २ गते हुने निर्वाचनमा उपभोक्ताहरूले सोचविचार गरेर सही उम्मेदवार चयन गर्ने अपेक्षा गरिएको छ । संस्थाको विकास, स्वच्छता र जनउत्तरदायी व्यवस्थापनका लागि योग्य नेतृत्वलाई समर्थन गर्नु सबैको जिम्मेवारी भएको पुन मगरको भनाइ छ ।