२७ फाल्गुन, सल्यान ।
वास इकाईका कर्मचारीहरुको लागि पूर्ण सरसफाई सम्बन्धी २ दिने पुनर्ताजगी तालिम मंगलबार सल्यानको बागचौरमा सम्पन्न भएको छ । सवैको लागि दिगो खानेपानी, सरसफाई तथा स्वच्छता आयोजना सञ्चालन गरिरहेका पालिकाहरु क्रमशः बागचौर नगरपालिका, वनगाड कुपिण्डे नगरपालिका, छत्रेश्वरी गाउँपालिका र दार्मा गाउँपालिकाको संयुक्त आयोजना तथा आयोजना सहयोग इकाई सूर्खेतको सहजीकरणमा उक्त तालिम सम्पन्न भएको हो । आयोजनाका सरसफाई विज्ञ गोविन्द राज रोकाय, वास सल्लाहकार गुम्म बहादुर नेपाली र वास सल्लाहकार ध्रुव श्रेष्ठले तालिमको सहजिकरण गर्नुभएको थियो । तालिममा खुला दिशा मुक्त र पूर्ण सरसफाई सम्बन्धमा नेपालमा भए गरेका क्रियाकलापहरु, कर्णालीको अवस्था, सल्यान जिल्लाको वर्तमान अवस्था र परियोजना सञ्चालित पालिकाहरुको अवस्थाबारेमा समेत छलफल र प्रगति समीक्षा गरिएको थियो । त्यस्तै विद्यालय खानेपानी, सरसफाई तथा स्वच्छता अवस्थामा सुधारका क्रियाकलापहरु, नीजि तथा संस्थागत शौचालयहरुको अवस्था र सुधार गर्नुपर्ने पक्ष, दिगो विकासका लक्ष्य तथा उदेश्य प्राप्तिका आ—आफ्नो क्षेत्रबाट गर्नुपर्ने क्रियाकलापहरु, ऐन नियमहरु, तारा पद्धति बमोजिम विद्यालयको मुल्यांकन र सुधारका कार्ययोजनाहरु, सरसफाई बजारीकरण तथा औजारहरु लगायतका विषयमा प्रशिक्षण गरिएको थियो । तालिमले चालु आर्थिक वर्षका क्रियाकलापहरु प्रभावकारी रुपमा अगाडि बढाउनका साथै आयोजनाको लक्ष्य तथा उदेश्य प्राप्तिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । तालिममा वास इकाईमा कार्यरत वास संयोजक, वास सहजकर्ता, प्राविधिक सहजकर्ता वास प्राविधिक, सामाजिक परिचालक लगायत ४० जनाभन्दा बढीको सहभागीता रहेको थियो ।
