१७ भदौ, घोराही ।
दाङमा खोलाले कार बगाउँदा चार जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । नेपालगञ्जबाट घोराहीतर्फ आउँदै गरेको प्रदेश ३-०१-२४ च ४४४० नं को कारलाई घोराही उपमहानगरपालिका ४ गोग्लीस्थित सिस्ने खोलाको बाढीले बगाउँँदा कारमा सवार चार जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा घोराही उपमहानगरपालिका १३ की ३२ वर्षीया शुसिला श्रेष्ठ र ४० वर्षीया रितामाया पुन तथा घोराही १४ का २९ वर्षीया राधा कुँवर र ४० वर्षीया विमला केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्द प्रसाद रिजालले जानकारी दिए । विमला र रिताको शव घटनास्थलदेखि तीन किलोमिटर टाढा आज बिहान सवा ६ बजेतिर फेला परेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा कार चालक घोराही उपमहानगरपालिका वडा नं। १५ निवासी ४३ वर्षीय नरबहादुर पुन घाइते छन् । पुनको खुट्टा भाँचिएको छ । उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ । उनलाई बगाएको स्थानदेखि करिब डेढ किलोमिटर टाढा घोराही–१७ बेलभारको नयाँवस्तीमा फेला पारेर उद्धार गरेको प्रहरीले जनाएको छ ।
