सल्यान, ५ भदौ ।

अविरल बर्षापछी सल्यानको कपुरकोट- फालावाङ सडकखण्डको किमुचौरमा सडक भासिएको छ । साथै ७ घर पहिरोको जोखिममा रहेका छन् । कपुरकोट गाउँपालिका वडा नम्बर ४ किमुचौर स्थित नेरामावि किमुचौरको फिल्ड माथीबाट पहिरो गएका कारण सडक भासिएर पुर्ण रुपमा अवरुद्ध भएको र ७ घर जोखिममा रहेको वडा अध्यक्ष मित्र कठायतले जानकारी दिए । पहिरोले कृष्ण बहादुर चन्दको घर उच्च जोखिममा रहेको छ भने अन्य स्थानियहरु सिताराम बिक, शोमराज थापा, ओम बहादुर थापा, भिम बहादुर बिक, तुल्सींह थापा र पुर्ण बहादुर थापाको घर पनि जोखिममा रहेको उनले जनाए ।

महत्वपुर्ण सामाग्री निकालेर सुरक्षित स्थानमा बस्नका लागि जोखिममा रहेका घरपरिवारलाइ अनुरोध गरिएको वडा अध्यक्ष कठायतले जनाए । यस्तै पहिरोका कारण कपुरकोट फालावाङ सडक खण्डकै अर्को स्थानमा पनि सडक तलबाट गएको पहिरोले जोखिम निम्त्याएको उनले जनाए । यसबारेमा सल्यान जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला सुरक्षा समितिका संयोजक शम्भु रेग्मीलाई जानकारी गराइएको तथा प्रहरी चौकी कपुरकोटले पनि पहिरो गएको क्षेत्रको विवरण संकलन गरेर लगेको वडा अध्यक्ष कठायतले जनाए । अविरल बर्षाका कारण कपुरकोट गाउँपालिका लगायत जिल्लाका विभिन्न स्थानिय तहमा ग्रामिण सडकहरु अवरुद्ध छन् ।