सल्यान, २२ फाल्गुन ।
AWIS सम्बन्धी १ दिने अभिमूखिकरण तथा कार्यशाला गोष्ठि बनगाड कुपिण्डे नगरपालिकामा सोमबार सम्पन्न भएको छ । पालिकाका पदाधिकारी तथा शाखा प्रमुखहरुका लागि यस कार्यशाला गोष्ठिको आयोजना भएको हो । वनगाड कुपिण्डे नगरपालिका प्रमुख श्री कर्ण बहादुर बुढाथोकीको सभाध्यक्षता, नगरपालिका वाश इकाईको आयोजना र सवैका लागि दिगो खानेपानी, सरसफाई तथा स्वच्छता आयोजना सूर्खेतको सहजिकरणमा कार्यशाला गोष्ठि सञ्चालन भएको हो । आयोजना सहयोग इकाईबाट वास सल्लाहकार राजकुमार डि.सी. र सुशासन विज्ञ निराजन श्रेष्ठको सहभागिता थियो । सुशासन विज्ञ निराजन श्रेष्ठले कार्यशाला गोष्ठिमा विशेष सहजीकरण गर्नुभएको थियो । उहाँले AWIS -Annotated Water Integrity Scan) खानेपानी आयोजनाको दिगोपना, सञ्चालन र व्यवस्थापनसंग सम्बन्धित एउटा उपकरणको रुपमा रहेको बताउनुभयो । विशेष गरी खानेपानी आयोजनासित सम्बन्धित भएता पनि नीति नियम तर्जुमादेखि कार्यान्वयन चरण सम्म बहुसरोकारवालाहरुसित जोडिने विषयको रुपमा यो उपकरण रहेको समेत स्पष्ट पार्नुभयो ।
उद्घाटन सत्रमा आफ्ना भनाई राख्दै प्रमुख प्रशासकीय अधिकृत जगत बहादुर घर्तीले यस प्रकारका गोष्ठिहरुबाट आ–आफ्नो जिम्मेवारी अनुसार थप उत्तरदायी बन्न सहयोग पुग्ने र सुशासनमा टेवा पुग्ने बताउनुभयो । मन्तव्यकै क्रममा आफ्ना भनाई राख्दै नगर उपप्रमुख पुरुषोत्तम आचार्यले यस प्रकारका गोष्ठिहरुले नीति नियम तर्जुमा देखि कार्यान्वयन चरण सम्म पदाधिकारी, कर्मचारी एबं सरोकारवालाहरुलाई सचेत, सजग र जिम्मेवार बनाउने बताउनुभयो । त्यसैगरी नगरप्रमुख कर्ण बहादुर बुढाथोकीले परियोजनाबारे स्पष्ट पार्दै खानेपानी, सरसफाई र स्वच्छता को क्षेत्रमा गर्नुपर्ने कामहरु धेरै नै भएको बताउनुभयो । असल ज्ञान र सिकाईबाट समाज रुपान्तरणमा सहयोग पुग्ने बताउदै ज्ञान, सीप र श्रोतको सदुपयोग गर्न सक्नुपर्ने बताउनुभयो । साथै उहाँले नेपाल श्रोत साधनको दृष्टिकोणले निकै धनी भएता पनि सहि सदुपयोग नभैरहेको सन्दर्भमा ज्ञान, सीप र प्रविधिको अँझ बढी महत्व रहेको बताउनुभयो । कार्यशाला गोष्ठिमा आयोजनाको दिगोपना, सुशासन, सहभागीता, समावेशिता, पारदर्शीता, जवाफदेहिताका साथै आयोजना सञ्चालन, व्यवस्थापन र ऐन कानूनसंग सम्बन्धित विषयहरुमा समेत छलफल भएको छ । साझा प्रयाश र अवधारणाबाट मात्रै विकास निर्माण लगायत समग्र क्रियाकलाप अगाडि बढाउन सकिने स्पष्ट पारिएको छ । ५ वटा समूह बनाएर गरिएको अभ्यासले वर्तमान कार्यविधि, कार्यशैली, कार्यप्रक्रिया र कार्यप्रगतिको स्कोरिङ गर्न मदत गरेको छ ।
सामुहिक छलफल र स्कोरिङ पश्चात गरिएको प्रस्तुतीकरणले अहिले भए गरेका क्रियाकलापहरुको मुल्यांकन समेत गरिएको छ । सहि विश्लेषणबाट आगामी कार्यदिशा र कार्ययोजना निर्माणमा सहयोग पुग्ने बताउदै यस प्रकारका गोष्ठिहरु समय समयमा हुनुपर्ने भनाई सहभागीहरुको रहेको थियो । गोष्ठिमा वडाध्यक्ष, कार्यपालिका सदस्य लगायतका पदाधिकारीहरु र पालिकाका विभिन्न शाखा प्रमुख एबम् प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन वास सहजकर्ता निम प्रसाद बुढाले गर्नुभएको थियो भने स्वागत मन्तव्य वास संयोजक गोविन्द शर्माले राख्नुभएको थियो ।
