सल्यान १०, साउन ।
साउन महिना सुरु भएसँगै महिलाहरुका लागि हरियो चुरापोते र मेहन्दी माहोल सुरु भएको छ । यतिबेला बजारमा हरियो चुरापोते र मेहन्दी लगाउने महिलाहरुको चाप श्रृंगार पसलहरुदेखि सडक पेटीमासमेत देख्न सकिन्छ । अरु समयमा नलगाए पनि साउन महिनामा महिलाहरुले विशेष रुचिका साथ हरियो चुरापोते र मेहन्दी लगाउने गरेको पाइन्छ । न्युरोडमा मेहन्दी लगाउँदै गरेकी स्वयम्भूकी सानु लामाले साउन महिनामा सबैले मेहन्दी र हरियो चुरा लगाउने गरेको बताइन् । यो लामो समयदेखि चल्दै आएको नेपालीहरुको संस्कृति भएको उनको भनाइ छ । अस्मिता ओली र उनकी बहिनी पनि न्युरोडमा मेहेन्दी लगाउँदै थिइन् । साउन महिनामा किन हरियो चुरा र मेहन्दी लगाएको भन्ने प्रश्नमा उनीहरुले आफूहरुलाई मन पर्ने र राम्रो श्रीमान् पाइन्छ भन्ने मान्यता भएकाले लगाएको बताए ।
साउनमा महिलाहरु हरियो पहिरनमा सजिनुका साथै हरेक सोमबार व्रतसमेत बस्ने गर्छन् । साउनको सोमबार भगवान शिवको नाममा व्रत बस्दा अविवाहितले राम्रो श्रीमान् र विवाहित महिलाले आफ्नो श्रीमानको लामो आयुको कामना गर्ने गर्छन् । साउन महिना महिलाहरुका लागि सौभाग्यको महिना भएकाले पनि विवाहित महिलाहरुले हरियो चुरापोते र मेहन्दी लगाउने गरेको मुजु श्रेष्ठलले बताइन् । उनले भनिन् ‘श्रीमानको दिर्घायुका लागि र आफूलाई पनि मन पर्ने भएकाले लगाउँछु ।’
असनकी सञ्जु श्रेष्ठले साउन महिनामा सबैले हरियो चुरा र मेहन्दी लगाएको देखेर रहरले लगाएको बताइन् । तर उनलाई हरियो चुरा किन लगाउँछन् भन्ने कुरा थाहा नभएको पनि सुनाइन् । हरियो रङले मनमा प्रेम र खुसी दिन्छ । यसमा सकारात्मक ऊर्जा, अपेक्षा र प्रेमको भाव अडिएको हुन्छ । साउनमा ग्रामीण भेगका भन्दा सहरी क्षेत्रका महिलाले यस्तो फेसन रुचाउँछन् । हरियो पहिरन, हातभरि चुरा र मेहदी बालिकादेखि वृद्धासम्मको फेसन बनेको छ । यतिबेला चारैतिर हरियाली छ । प्रकृतिले मैदानदेखि पहाडसम्म हरियालीको बर्को ओढेको छ । ज्योतिषशास्त्र अनुसार हरियो रङलाई बुध ग्रहको प्रतीक मानिन्छ । यस्तो रङ लगाउँदा सफलता मिल्छ । मिश्रित कार्य, व्यापार, व्यवसाय, आवसमा राशिअनुसार यो रङ शुभ मानिन्छ । हरियाली वातावरणले आँखा मात्र होइन, मन पनि खुसी बनाउँछ । संस्कृतिविद्हरूका अनुसार प्रकृतिसँग नजिक हुन नारीहरु हरियो चुरा र पहिरन लगाउँछन् । हरियो पहिरनले मनमा सकारात्मक ऊर्जा दिने विश्वास गरिन्छ । फेब्रिक सेन्टरमा हरियो, रातो, पहेंलो खोज्नेको संख्या धेरै छ । विवाहित महिलाले मात्र नभई अविवाहितलाई पनि यस्तो पहिरनले आकर्षित गरेको व्यवसायी बताउँछन् ।
प्रकृतिसँग मनको मेल
संस्कृतिविद् डा. मतिप्रसाद ढकालका अनुसार कुनै पनि धार्मिक ग्रन्थमा साउनमा हरियो वस्त्र, चुरा र टीका लगाउनुपर्छ भन्ने उल्लेख छैन । उनी भन्छन्, ‘साउनभरि हरियो वस्त्र, हरियो चुरा, हरियो पोते र हरियो टीका लगाउने चलन प्राकृतिक सम्मानसँग जोड्न सकिन्छ ।’उनले हरियो पहिरन परम्पराभन्दा पनि फेसनका रूपमा भित्रिएको बताए । उसो त खेतमा काम गर्दा हातखुट्टामा लागेको चोट हटाई मुलायम बनाउन मेहदीका रुपमा तिउरी लगाउने चलन गाउँघरतिर अझै छ ।
चरकसंहितामा साउन महिनालाई वसन्तपछि बहार आउने अर्को महिनाका रूपमा व्याख्या गरिएको छ । कतिपयले साउनलाई आत्मशुद्धिको महिना मानेका छन् । प्रकृतिप्रति कृतज्ञता ज्ञापन गर्ने र प्रकृतिप्रति समर्पण गर्ने महिना भएकाले नारीहरूले हरियो पहिरन लगाउने गरेका हुन् । यस्तै साउन आत्ममन्थन गर्ने समय पनि हो । हरियो रङ धेरै प्रसंग र विश्वाससँग जोडिएको छ । त्यसैले महिला साउनमा हरियो कपडा तथा चुरा लगाउनुपर्छ भन्ने मान्यता राख्छन् । अर्कोतर्फ समयअनुसारको बदलिँदो फेसन शैलीले झनै आकर्षण बढाएको देखिन्छ । वरिष्ठ लोकसंस्कृतिविद् तुलसी दिवसका अनुसार प्रकृतिमा घुलेको हरियो रङले मन खुसी बनाउँछ । हरियो मौसममा रमाउनु प्रकृतिसँग मनको मेल हुनु हो । यसबाट मानिसमा प्रेमभाव उत्पन्न हुन्छ । हरियो रङमा सकारात्मक ऊर्जा, अपेक्षा र प्रेमको भाव अडिएको हुन्छ ।
नयाँ डिजाइन छैनन्
पछिल्लो समय पसलमा हरियो चुरा, मेहदी लगायतका अन्य शृंगारिक सामानको बिक्रीका लागि सामान राख्नेको होड छ । विगतमा कपडा, चुरा, मेहदीका नयाँ डिजाइन आउँथे । यस वर्ष कपडा, चुरा लगायतका डिजाइन नआएको व्यापारी बताउँछन् । लकडाउनका कारण काम गर्ने मानिस नभएको र बाहिरबाट पनि नयाँ डिजाइन नभित्रिएको उनीहरुको भनाइ छ । कोरोनाका कारण गत वर्षको तुलनामा ५ प्रतिशत मात्रै ग्राहक आएको व्यापारी सुनाउँछन् । भड्किला भन्दा सामान्य डिजाइन र आरामदायी कपडा ग्राहकको रोजाइमा पर्ने असनका व्यापारी सकिलले बताए । उनी भन्छन्, ‘लकडाउनका कारण ठप्प व्यापार साउन लागेपछि मेहदी र चुराले गर्दा केही बढेको छ । गत वर्षको तुलनामा ५ प्रतिशत मानिस मात्रै किन्न आएका छन् ।’ ग्राहकले पनि साउनमा हरियोप्रति आकर्षित भएको र देखासिकीमा प्रभावित भएको उनी बताउँछन् ।
