असार ३०,सल्यान ।
भाडा वृद्धिको माग गर्दै सल्यानका अटो व्यवसायीहरु आन्दोलित भएका छन् । पटक पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको भन्दै अटो व्यवसायीहरुले भाडा बढाउन माग गर्दै आन्दोलनमा उत्रिएका हुन ।
दुई वर्ष अघि ९६ रुपैयाँ लिटर पेट्रोलियम पदार्थ हुँदा ६० रुपैयाँ रहेको श्रीनगर खलंगाको भाडा रहेको तर अहिले १ सय ३३ रुपैयाँ लिटर पेट्रोलियम पदार्थ पुगेको र पुरानै भाडामा यात्रु बोक्न नसकिने सल्यान यातायात सेवा प्रा।लि।का अध्यक्ष लोक बहादुर खत्रीले बताए ।
पेट्रोलियम पदार्थको मूल्य बढेपछि अटो व्यवसायीले ६० बाट ८० रुपैयाँ भाडा बढाउँदा प्रशासनले रोक लगाएको खत्रीले बताए । बढी भाडा असुली गरेको आरोपमा केही अटोलाई प्रशासनले नियन्त्रणमा लिएपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको उनको भनाई छ ।
भाडा बढाउने विषयमा जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय र शारदा नगरपालिकामा पटक पटक धाउँदा पनि कुनै सुनुवाई नभएको खत्रीले बताए ।
भाडा वृद्धि र बढी भाडा लिएको अनि नियन्त्रणमा लिएका अटो नछोडेसम्म कुनै पनि अटो सञ्चालन नगर्ने अटो व्यवसायीहरुको भनाई छ । जिल्लामा सल्यान यातायात सेवा प्रा।लि। आर। एस यातायात सेवा प्रालि। शिव गुफा यातायात प्रा।लिमा झन्डै ८० भन्दा बढी अटो रहेका छन् ।
