असार २७, सल्यान ।
सल्यानको बागचौर नगरपालिकाले आइतबार सातौं नगर सभा सम्पन्न गरेको छ । नगर प्रमुख श्री लोकमान बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा बागचौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री रामबहादुर हमालले स्वागत मन्तव्य राखेका थिए ।
नगरसभामा नीति तथा कार्यक्रम नगर प्रमुख लोकमान बुढाथोकिले प्रस्तुत गरेका थिए भने उप प्रमुख श्री कल्पना पुनले आर्थिक वर्ष २०७८।०७९ को बजेट प्रस्तुत गरेकी थिइन । उनले योजना तथा कार्यक्रमहरु , प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत योजनाहरु, आर्थिक ऐन २०७८, विनियोजन ऐन २०७८ समेत प्रस्तुत गरेकी थिइन ।
बागचौर नगरपालिकालाई संघीय सरकारबाट प्राप्त बजेट सिलिङ्ग, प्रदेश सरकारबाट प्राप्त बजेट सिलिङ्ग, नगरको आन्तरिक आय समेतलाई आकलन गरी उल्लेखित नीति तथा कार्यक्रमहरुको प्राथामिकता आधारमा कार्यान्वयन गर्नका लागि आगामी आ।व। का लागि बजेट विनियोजन गरिएको छ ।
आय तर्फ अनुमानित कुल रकम ७८ करोड ८२ लाख ५२ हजार ४७४ रहेकोमा आगामी आर्थिक वर्षमा व्यय तर्फ चालु खर्च ४३ करोड ५७ लाख ५२ हजार ४७४ र पुँजीगत निर्माण खर्च तर्फ रकम रु ३५ करोड २४ लाख ९९ हजार ९९८ अनुमान गरिएको छ ।
कार्यक्रममा आर्थिक ऐन २०७८, विनियोजन ऐेन २०७८, स्वास्थ्य ऐेन २०७८, नीती तथा कार्यक्रम, बजेट छलफल पश्चात सर्वसम्मत रुपले पारित गरिएको छ ।