काठमान्डौ । नेपालको राष्ट्रिय झण्डा अंकित रेल जनकपुर – जयनगर चल्ने भएको छ । भारतमा निर्माण भएको रेल भारतको जयनगर स्टेशनबाट जनकपुर ल्याईंदैछ ।

रेल दिउँसोसम्म जनकपुर आइपुग्ने रेल विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिएका छन् । दुई वटा रेल भारतको बिहारमा रहेको हाजीपुर स्टेसनबाट जयनगर हुँदै जनकपुर ल्याउन लागिएको हो ।

एक इञ्जिन र चारवटा बोगी रहेको रेलको दुई वटा सेट आजै जनकपुरमा हस्तान्तरण गरिँदै छ । हिजो राति भारतको हाजीपुरबाट जयनगर आइपुगेको रेलको दुवै सेट जनकपुर आएपछि भव्य स्वागत गर्ने तयारी छ ।

जयनगरदेखि धनुषाको कुर्थासम्म ३५ किलोमिटर लम्बाइको रेलमार्गको भौतिक पूर्वाधार निर्माण भइसकेको छ । कुर्थाबाट बिजलपुराखण्ड १७ किलोमिटरसमेत गरेर ५२ किलोमिटर सम्पन्न हुनेछ र त्यसपछि रेल त्यहाँसम्म विस्तार हुनेछ ।