सुर्खेत, साउन १८ गते । सुर्खेतस्थित एकीकृत कृषि प्रयोगशालामा कार्यरत एक महिला कर्मचारीको अस्वाभाविक मृत्यु प्रकरणमा प्रहरीले एक सरकारी कर्मचारीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार जिल्ला प्रशासन कार्यालय सुर्खेतमा कार्यरत नायब सुब्बा कविलाल बीसीलाई आत्महत्या दुरुत्साहनसम्बन्धी कसुरमा अनुसन्धानका लागि पक्राउ गरिएको हो। उहाँलाई अदालतबाट म्याद थप गरी घटनाका विभिन्न पक्षबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
मृतक २७ वर्षीया चन्द्रा सिंह जाजरकोटको भेरी नगरपालिका–१ की स्थायी बासिन्दा हुनुहुन्थ्यो। उहाँ विगत दुई वर्षदेखि एकीकृत कृषि प्रयोगशालामा नायब प्राविधिक सहायकका रूपमा कार्यरत रहँदै आउनुभएको थियो। केही दिनअघि कार्यालय परिसरमै रहेको आवास गृहको शौचालयमा अचेत अवस्थामा फेला परेपछि उपचारका लागि अस्पताल लगिएको थियो। उपचारका क्रममा चिकित्सकले उहाँलाई मृत घोषणा गरेका थिए।
घटनापछि मृतकका श्रीमान् महेश बस्नेतले आत्महत्या दुरुत्साहनको आरोपमा किटानी जाहेरी दिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ठाकुरप्रसाद पोखरेलले प्रारम्भिक अनुसन्धानका क्रममा मृतक र पक्राउ परेका व्यक्तिबीच सामाजिक सञ्जालमार्फत भएको संवादलगायत केही विषय अनुसन्धानको दायरामा रहेको जानकारी दिनुभयो। उहाँका अनुसार घटनाका सबै पक्षको सूक्ष्म अध्ययन भइरहेको छ र अनुसन्धान पूरा भएपछि मात्र वास्तविक तथ्य सार्वजनिक हुनेछ।
प्रहरीले हाल अनुसन्धान जारी रहेकाले कुनै पनि निष्कर्षमा पुग्न हतार नगर्न आग्रह गरेको छ। मृतक सिंहको आइतबार अन्त्येष्टि गरिएको परिवारले जनाएको छ।
