सल्यान, २२ असार ।

एक समय जिल्लाकै विकट र पिछडिएको क्षेत्रको रुपमा चिनिने सल्यानको कालिमाटी गाउँपालिकाले विविध क्षेत्रमा विकासको आधार तयार गर्दै आगामी आर्थिक वर्षको लागि मार्गचित्र सहित नयाँ नीति कार्यक्रम र बजेट पारित गरेको छ ।

आ।व। २०८३÷८४ का लागि ५३ करोड ४५ लाख ३० हजार रुपैयाँको बजेट, नीति तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित गर्दै सोमबार सम्पन्न २० औँ गाउँसभाले पालिकाको विकासलाई थप तीव्रता दिने प्रतिबद्धता जनाएको हो । गाउँपालिका अध्यक्षको दुर्घटनाका कारण स्थगित भएको गाउँसभा सोमबार बसेर कृषि, पूर्वाधार, शिक्षा, स्वास्थ्यदेखि डिजिटल सेवासम्मलाई प्राथमिकतामा राखेर आगामी वर्षको विकासको मार्गचित्र तय गरेको हो ।

गत असार १० गते बस्ने तय भएको गाउँसभा गाउँपालिका अध्यक्ष दान बहादुर केसी मोटरसाइकल दुर्घटनामा घाइते भएपछि स्थगित भएको थियो । उपचारका लागि नेपालगन्ज पुगेका अध्यक्ष केसी असार १४ गते गाउँपालिकामा फर्किएपछि आवश्यक तयारी पूरा गरी सोमबार गाउँसभा सम्पन्न गरिएको हो ।

गाउँसभालाई सम्बोधन गर्दै अध्यक्ष केसीले स्थानीय तह स्थापना हुँदाको अवस्थामा कालिमाटी जिल्लाकै विकट र विकासका दृष्टिले पछाडि परेको क्षेत्रका रूपमा चिनिने गरेको स्मरण गर्दै पछिल्ला वर्षहरूमा गाउँपालिकाले उल्लेखनीय विकास उपलब्धि हासिल गरेको बताए । सडक सञ्जाल विस्तार, विद्युत् पहुँच, शिक्षा, स्वास्थ्य, खानेपानी, सञ्चार, सिँचाइ, कृषि, पशुपालन, पर्यटन तथा अन्य पूर्वाधार विकासका क्षेत्रमा महत्वपूर्ण प्रगति भएको उनले सभामा सम्बोधनको क्रममा उल्लेख गरे । यद्यपि अझै धेरै काम गर्न बाँकी रहेको उल्लेख गर्दै अध्यक्ष केसीले हालसम्म प्राप्त उपलब्धिमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान पुर्याउने विगतदेखि वर्तमानसम्मका सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल, नागरिक समाज, विकास साझेदार, सञ्चारकर्मी तथा गाउँपालिकावासीप्रति आभार व्यक्त गरेका छन् ।

गाउँसभामा उपाध्यक्ष शनसिल्ता वली डिसीले आर्थिक वर्ष २०८३/८४ को बजेट तथा आर्थिक ऐन प्रस्तुत गरेकी थिइन् भने वडा नं। ५ का वडा अध्यक्ष टोप बहादुर कार्कीले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । विस्तृत छलफल तथा आवश्यक संशोधनपछि सबै प्रस्ताव सर्वसम्मत पारित भएको गाउँसभा सचिव तथा प्रमुख प्रशासकीय अधिकृत हर्क बहादुर वलीले जानकारी दिए ।

पारित बजेट अनुसार आगामी आर्थिक वर्षका लागि गाउँपालिकाको कुल बजेट ५३ करोड ४५ लाख ३० हजार रुपैयाँ रहेको छ । संघीय सरकारबाट वित्तीय समानीकरण अनुदानतर्फ ११ करोड २२ लाख रुपैयाँ, राजस्व बाँडफाँटबाट १४ करोड ७२ लाख ३९ हजार रुपैयाँ, समपूरक अनुदानबाट १ करोड ९३ लाख रुपैयाँ तथा सशर्त अनुदानबाट १८ करोड ७५ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।

त्यसैगरी कर्णाली प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान १ करोड ३३ लाख २८ हजार रुपैयाँ, राजस्व बाँडफाँटबाट २१ लाख ११ हजार रुपैयाँ, सशर्त अनुदान २ करोड ३ लाख ५२ हजार रुपैयाँ, समपूरक अनुदान १ करोड १८ लाख रुपैयाँ तथा विशेष अनुदान ५० लाख रुपैयाँ प्राप्त हुने प्रक्षेपण गरिएको छ । साथै गाउँपालिकाले आन्तरिक राजस्वबाट ५७ लाख रुपैयाँ संकलन गर्ने तथा बैंक मौज्दातबाट १ करोड रुपैयाँ उपयोग गर्ने अनुमान गरेको छ ।

गाउँसभाले पारित गरेको नीति तथा कार्यक्रममा कृषि उत्पादन वृद्धि र व्यवसायीकरण, खानेपानी तथा सिँचाइ विस्तार, गुणस्तरीय शिक्षा, प्रभावकारी स्वास्थ्य सेवा, सडक तथा अन्य पूर्वाधार निर्माण, रोजगारी सिर्जना, पर्यटन प्रवद्र्धन, वातावरण संरक्षण, विपद् व्यवस्थापन, सुशासन, डिजिटल सेवा विस्तार तथा सामाजिक सुरक्षालाई उच्च प्राथमिकतामा राखिएको छ ।

यसैबीच गाउँसभाले न्यायिक समिति, सामाजिक विकास समिति तथा अन्य विभिन्न विषयगत समितिहरूले प्रस्तुत गरेका वार्षिक प्रतिवेदनहरू समेत पारित गरेको गाउँपालिकाका प्रशासकीय अधिकृत यज्ञ बहादुर खत्रीले जानकारी दिए ।

स्थानीय सरकार सञ्चालनको नौ वर्षको समयसम्म आइपुग्दा कालिमाटी गाउँपालिकाले विकासका आधारभूत पूर्वाधार विस्तारसँगै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने लक्ष्यसहित आगामी वर्षको नीति तथा कार्यक्रम अघि सारेको छ । गाउँसभाबाट पारित योजना र बजेट प्रभावकारी रूपमा कार्यान्वयन हुन सके विकट क्षेत्रको पुरानो परिचयलाई विकासको नयाँ पहिचानमा रूपान्तरण गर्ने अपेक्षा गरिएको छ ।