सल्यान, जेठ ७ गते ।
कर्णाली प्रदेशका स्थानीय तहमध्ये सल्यानको दार्मा गाउँपालिका सबैभन्दा कम बेरुजु हुने पालिका बनेको छ । यस्तै, दोस्रो कम बेरुजु हुने पालिका पनि सल्यानकै त्रिवेणी गाउँपालिका बनेको छ ।
महालेखापरीक्षकको ६३औँ वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१र८२ को लेखापरीक्षणमा दार्मा गाउँपालिकाको एक अर्ब दुई करोड २१ लाख ५२ हजार रुपियाँ लेखापरीक्षण रकममध्ये २५ लाख १७ हजार रुपियाँ बेरुजु कायम भएको छ । यो कुल लेखापरीक्षण रकमको ०।२५ प्रतिशत हो, जुन कर्णाली प्रदेशमै सबैभन्दा कम बेरुजु दर हो ।
त्यसैगरी, त्रिवेणी गाउँपालिकामा ९२ करोड ७७ लाख ७ हजार रुपियाँको लेखापरीक्षण हुँदा २७ लाख १९ हजार रुपियाँ बेरुजु देखिएको छ । यो कुल लेखापरीक्षण रकमको ०।२९ प्रतिशत हो । यस विवरणले त्रिवेणीलाई कर्णालीकै दोस्रो कम बेरुजु हुने पालिका बनाएको छ ।
दार्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेशम वलीले लेखापरीक्षण प्रतिवेदनलाई सुधारको मार्गचित्रका रूपमा लिएको बताउनुभयो । उहाँका अनुसार वित्तीय अनुशासनलाई थप सुदृढ गर्दै बेरुजु शून्यतर्फ लैजाने लक्ष्यसहित पालिकाले काम गरिरहेको छ ।
यस्तै, दोस्रो कम बेरुजु भएको त्रिवेणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमबहादुर केसीले पालिकाले आर्थिक अनुशासन र पारदर्शितालाई संस्थागत गर्दै लैजाने नीति अवलम्बन गरेको बताउनुभयो ।
सल्यानका अन्य स्थानीय तहमध्ये कालीमाटी गाउँपालिकाको कुल लेखापरीक्षण रकम १ अर्ब २ करोड ६९ लाख ६६ हजार रुपियाँ रहेकोमा ४ करोड ६३ लाख १० हजार रुपियाँ बेरुजु कायम भएको छ । यो कुल लेखापरीक्षण रकमको ४।५१ प्रतिशत हो ।
त्यसैगरी, शारदा नगरपालिकाको बेरुजु २।७१ प्रतिशत रहेको छ । १ अर्ब ६९ करोड ३१ लाख ८० हजार रुपियाँ लेखापरीक्षण भएकोमा बेरुजु रकम ४ करोड ५८ लाख ९६ हजार रुपियाँ कायम भएको प्रतिवेदनमा उल्लेख छ ।
जिल्लाको बागचौर नगरपालिकाको बेरुजु रकम १ करोड ७१ लाख ५ हजार रुपियाँ कायम भएको छ । १ अर्ब ५६ करोड ९५ लाख ६४ हजार रुपियाँ लेखापरीक्षण भएकोमा बागचौरमा १।०९ प्रतिशत बेरुजु कायम भएको हो ।
यसैगरी, सिद्धकुमाख गाउँपालिकाको ७३ करोड ३१ लाख १२ हजार रुपियाँ लेखापरीक्षण गर्दा ०।४६ प्रतिशत अर्थात् ३३ लाख ९० हजार रुपियाँ बेरुजु देखिएको छ भने बनगाड कुपिण्डे नगरपालिकाको बेरुजु ०।५० प्रतिशत रहेको छ । १ अर्ब ४३ करोड ९ लाख ४५ हजार रुपियाँ लेखापरीक्षण रकममध्ये ७१ लाख ४० हजार रुपियाँ बेरुजु रहेको छ ।
छत्रेश्वरी गाउँपालिकाको बेरुजु ०।५४ प्रतिशत रहेको छ । १ अर्ब १४ करोड ७ लाख २९ हजार रुपियाँ लेखापरीक्षण गर्दा ६१ लाख २२ हजार रुपियाँ बेरुजु कायम भएको हो ।
कपुरकोट गाउँपालिकाको बेरुजु रकम ७५ लाख ३५ हजार रुपियाँ देखिएको छ । ९१ करोड ५६ लाख ८४ हजार रुपियाँ लेखापरीक्षण हुँदा ०।८२ प्रतिशत बेरुजु देखिएको हो ।
कुमाख गाउँपालिकाको बेरुजु ०।९ प्रतिशत रहेको छ । १ अर्ब १७ करोड ६१ लाख ५ हजार रुपियाँ लेखापरीक्षण रकममध्ये १ करोड ६१ लाख ८ हजार रुपियाँ बेरुजु कायम भएको छ ।
