११ बैशाख २०८३ कपुरकोट सल्यान ।
स्थानिय स्तरमै खेलकुद गतिविधि प्रवर्द्धन गर्ने उद्देश्यसहित सल्यानका विभिन्न वडाहरूमा सञ्चालन हुँदै आएका कार्यक्रमहरूकै निरन्तरतामा कपुरकोट गाउँपालिका–४ मा तेस्रो वडा कप खेलकुद प्रतियोगिता सुरु भएको छ ।
वडा कार्यालयको आयोजनामा वैशाख ११ गतेबाट सुरु भएको प्रतियोगिताको उद्घाटन कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर पुनले रिबन काटेर गर्नुभएको हो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारी र प्रमुख प्रशासकीय अधिकृत दिनेश पौडेल विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो । साथै वडा सदस्यहरू, वडा सचिव, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा टोल विकास संस्थाका अध्यक्षहरूको समेत उपस्थिति रहेको थियो ।
गाँडापानीस्थित गायत्री आधारभूत विद्यालयको प्रांगणमा सञ्चालन भइरहेको प्रतियोगितामा पुरुषतर्फ १० टिम र महिलातर्फ ५ टिमको सहभागिता रहेको छ । प्रतियोगिताअन्तर्गत अन्तरटोल स्तरीय महिला तथा पुरुष भलिबल खेलसँगै घैटोफोड प्रतियोगिता समेत समावेश गरिएको छ ।
प्रतियोगितामा पुरुष तथा महिलातर्फ प्रथम हुने टिमलाई रु १५ हजार, द्वितीयलाई रु १२ हजार र तृतीयलाई रु ९ हजार पुरस्कार प्रदान गरिनेछ । त्यस्तै एकीकृत घैटोफोड प्रतियोगितामा विजेतालाई रु २ हजार नगद पुरस्कारको व्यवस्था गरिएको वडा कार्यालयले जनाएको छ ।
ग्रामीण क्षेत्रमा महिलाको सहभागिता अझै चुनौतीपूर्ण भइरहेका बेला महिला भलिबल प्रतियोगिताले महिलाहरूमा आत्मविश्वास अभिवृद्धि गर्न र सामाजिक क्षेत्रमा सक्रियता बढाउन सहयोग पुग्ने विश्वास गरिएको छ । साथै खेलकुदमार्फत युवाहरूलाई सकारात्मक गतिविधितर्फ आकर्षित गर्दै सामाजिक विकृतिबाट टाढा राख्न यस्ता कार्यक्रम प्रभावकारी बन्ने अपेक्षा गरिएको छ ।
वडा कार्यालयले सम्पूर्ण खेलाडी, खेलप्रेमी तथा वडाबासीलाई प्रतियोगितामा उपस्थित भई कार्यक्रम सफल बनाउन आग्रह गरेको छ ।
